२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

माछापुच्छ्रे बैंकको नाफा ४१ करोड, ७९ लाख, कस्तो छ वित्तीय अवस्था ?

२१ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३२ रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

 १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसा, बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ०९:०७