२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

संस्थागत प्रणाली विकास गर्न समुदाय-प्रहरी साझेदारी अवधारणाः महानिरीक्षक खनाल

१४ माघ, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चौविसै घन्टा नागरिक र राष्ट्र सेवामा खटिएर इमानदार प्रयास गर्ने प्रहरीलाई समुदायको समेत उल्लेख्य सहयोग प्राप्त हुनेगरी संस्थागत प्रणाली विकास गर्न समुदाय-प्रहरी साझेदारी अवधारणा ल्याइएको बताउनुभएको छ । प्रहरी महानिरीक्षक खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रममा खटिने प्रशिक्षक तथा प्रहरी कर्मचारीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा सोमबार निर्देशन दिने क्रममा बताउनुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रममा खटिने प्रहरी कर्मचारीहरु यसको उद्धेश्य, अवधारणा र मर्मबारे स्पष्ट हुनुपर्ने उल्लेख गर्दै विगतका सामुदायिक प्रहरी लगायतका कार्यक्रमहरुमा थप आयामहरु समावेश गरी कार्यक्रम ल्याइएको चर्चा गर्नुभयो ।

लागूऔषध, घरेलु हिंसा, बाल विवाह, लैङ्गिक सुरक्षा जस्ता सामाजिक अपराध प्रहरी एक्लैको प्रयासले नियन्त्रण गर्न नसकिने भएकोले यस्ता अपराधबारे नागरिकहरुलाई जानकारी दिन, उनीहरुको भूमिकाबारे सचेत गराउन र उनीहरु मार्फत नै प्रहरीलाई आवश्यक सूचना तथा सहयोग प्राप्त गरी अपराधमुक्त समाज निर्माण गर्न समुदाय-प्रहरी साझेदारी अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
प्रहरीले कार्य सम्पादन गर्दा पारदर्शिता अनिवार्य रुपमा लागू गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पारदर्शिता कायम गर्दा नागरिकबाट उल्लेख सहयोग पाउन सकिने भएकोले नागरिकसँग अन्तरक्रिया, सार्वजनिक सुनुवाई, लगायतका कार्यक्रम नियमित रुपमा गर्न समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

अवधारणा अन्तर्गत १२ वटा प्राथमिकताका विषयहरु राखिएको, यसबारे समुदायमा खटिने प्रहरी कर्मचारी आफू स्पष्ट हुनुपर्ने र समुदायलाई समेत जानकारी दिन सक्ने हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।
प्रहरी संगठनमा बसेर समाज सेवा गर्ने अवसर समेत पाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अबका प्रहरीले दिने सेवा नागरिकले अनुभूति गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय र मातहत कार्यालयहरुबाट हालसम्म साझेदारीपत्रमा हस्ताक्षर, विभिन्न समिति गठन, अभिमुखिकरण कार्यक्रम, सार्वजनिक सुनुवाई, एलइडी तथा सिसिटिभी जडान, प्रशिक्षण कार्यक्रम, जनचेतनामुलक कार्यक्रम, अन्तरक्रिया तथा छलफल कार्यक्रम, स्वास्थ्य सिविर, रक्तदान, विद्यालय सम्पर्क लगायतका जम्मा २ हजार ३ सय ७१ कार्यक्रम सम्पन्न भैसकेको उक्त अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : 14:49