२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

गण्डकी प्रदेशमा एकै दिन पाँच जनाको मृत्यु, बाग्लुङमा एक बृद्धको हिउँमा पुरिएर ज्यान गयो

१२ माघ, पोखरा । गण्डकी प्रदेशमा आज विभिन्न घटनामा परी पाँचको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार चार्जमा राखेको मोबाइलबाट भिडियो हेर्दै गर्दा अचानक चट्याङ परी मोबाइलबाट करेन्ट लाग्दा तनहुँको रिशिङ गाउँपालिका–१ काहुँशिव सेताङ घर भई वडा नं २ रिशिङ लिमाश्वाँरा माइती घर आएकी २० वर्षीय मिनामाया थापाको मृत्यु भएको छ। करेन्ट लागेर घाइते उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै बाग्लुङको निसिखोला गाउँपालिका– ४ ओख्रेनीमा रातिदेखि परेको हिउँले पुरिएर ५० वर्षीय टीकाबहादुर घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ। कानबगरबाट घर फर्कने क्रममा आफ्नै घरदेखि ५०० मिटर तल हिउँले पुरी मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बगैँचास्थित छापागलाम भित्री सडकखण्डको किनारामा ५० वर्षीय गुप्तबहादुर विश्वकर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी सोही स्थानको दुर्गा आधारभूत प्रावि विर्घाका शिक्षक थिए। त्यस्तै चितवनको नारायणी नगरपालिका–६ घर भई हाल स्याङ्जाको भिरकोट नगरपालिका– २ डेरामा बस्दै आएका ५५ वर्षीय सफित मोहमद मियाँ मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार उनी डेरा नजिकै गोठ पछाडि मृत अवस्थामा भेटिएका हुन्। रासस

प्रकाशित मिति : 22:49