३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको निर्णय

९ असाेज, काठमाडाैँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेकाे छ ।

बिहीबार सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि कात्तिक ३० गतेसम्म नामावली संकलन तथा दर्ता गर्न पाइने जानकारी दिनुभएकाे छ ।

‘निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य आयोगको निर्णय अनुसार कात्तिक ३० गतेसम्म पुन: सञ्चालन हुने भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भएकाले बिहान ८ बजेदेखि ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

आयोगको वेबसाइटमा प्रि-रजिस्ट्रेशन प्रणालीबाट आवेदन भरेर बायोमेट्रिक विवरणका लागि कार्यालय जानुपर्ने भनिएको छ।

सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ। उक्त घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम रोकिन्छ। त्यसो भएपछि सरकारले अध्यादेश ल्याएर उक्त प्रावधानलाई संशोधन गरेको थियो।

संशोधन भएसँगै आयोगले निर्णय गरी दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो।

प्रकाशित मिति : September 25, 2025 at 5:53 pm