२५ टन केराउ बरामद गरेपछि वीरगञ्जमा ब्यापारीकाे प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप
१० माघ, वीरगञ्ज । प्रहरीले २५ टन केराउ बरामद गरेपछि वीरगञ्जमा ब्यापारीहरूले टायर बालेर बिराेध प्रदर्शन गरेका छन् । २५ टन केराउ लोड गरिएको ना४ख १२४ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा व्यापारीहरुले प्रदर्शन गरेका हुन् । अवैध रुपमा भारततर्फ लैजान लागेको अवस्थामा केराउ नियन्त्रणमा लिएको प्रहरीले दावी गरेको छ । मधुवनका आदर्शकुमार साह लगायतले केराउ खरिद गरी भारत लैजाँदै गरेको प्रहरीले जनाएकाे छ ।

व्यापारीहरुले भने रानीघाटस्थित बालाजी सप्लायर्सबाट १६ लाख ७५ हजार मुल्यमा खरिद गरेको २५ टन केराउ बहुअर्वाभाठामा रहेेको संदिप सप्लायर्समा लगिरहेको बेला प्रहरीले तस्करीको केराउ भन्दै नियन्त्रणमा लिएको आरोप लगाएका छन् । उनीहरुले प्रहरीले अनावश्यक दुःख दिएको भन्दै तिलावेमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गरी यातायात अवरुद्ध पार्ने प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ भने ६ जना व्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले तस्करीको केराउ समातेका विरोधमा प्रदर्शन गर्ने ७ जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । समाचार संकलन गर्न गएका केही पत्रकारलाई प्रहरीले दुब्र्यबहार गरेको छ ।
प्रकाशित मिति : 15:34









