नेविसंघका कार्यकर्ता र प्रहरीबीचकाे झडप, उपसचिव निरौलाको गाडी ताेडफाेड
८ माघ, काठमाडौं । नेविसंघका कार्यकर्ता र प्रहरीबीचकाे झडपमा उपसचिवकाे गाडी ताेडफाेड भएकाे छ । संसद भवन अगाडि उभिएको नेविसंघका समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा ढुंगा प्रहार गरेका हुन् ।

निरौला चढेको सरकारी गाडी देख्नेवित्तिकै नेविसंघका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बा २ झ ४१२६ नम्बरको कारको सीसा फुटेकाे हाे । डा. गोविन्द केसीसँगको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेको भन्दै नेविसंघले गरेको प्रर्दशनका क्रममा मंगलबार दिउँसो झडप भएको थियाे ।
नयाँ वानेश्वरस्थित संसद भवन छेऊमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठनले गरेको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी गोविन्दराज काफ्लले प्रदर्शनकारीले निषेधित क्षेत्र पार गरेपछि लाठीचार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको बताए ।
प्रकाशित मिति : 20:00









