२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

चितुवाको छाला किन्ने ग्राहक प्रहरीनै

६ माघ, सुर्खेत । प्रदेश ५ का प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी अाफैँ चितुवाको छाला खरिद गर्ने ग्राहक बनेर गएका छन् । विशेष सूचनाका अाधारमा प्रहरी निरीक्षक बोधराज रेग्मी कालिकोट गएका हुन् ।

सूचनालाई गम्भीर रूपमा लिँदै रेग्मी नेतृत्वको टोलीले कालिकोटको रास्कोट नगरपालिका–४ सिउनाका टंकप्रसाद उपाध्यायसँग सम्पर्क गरी प्रहरी टोलीले ग्राहक बनेर उनलाई वीरेन्द्रनगर– ३ स्थित होटल भिजिट रारामा सम्पर्कका लागि बोलायो ।

चितुवाकाे छाला बिक्रेता टंकप्रसाद उपाध्याय होटलमा आए र राम्रै रकममा छाला बिक्रि गर्ने बताए । शुरूमा  छाला देखाउन नमानेका उपाध्यायले राम्रै रकम पाउने भएपछि  आफूसँग भएको चितुवाको छाला देखाए । चितुवाको छाला देखाएलगत्तै सादा पोशाकको उक्त प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार उपाध्ययको साथबाट ध्वाँसे चितुवाको दुई थान छाला बरामद भएको छ । पक्राउ परेका उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए । ‘हामी अहिले घटनास्थलमा मुचुल्का उठाइरहेका छौं,’ रेग्मीले भने, ‘उनलाई उतै लाने वा सुर्खेत प्रहरीको जिम्मा लगाउने भन्ने विषय टुंगो लागेको छैन ।’

प्रकाशित मिति : 17:16