२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कर्णाली प्रदेशबाट पहिलाेे श्रम स्वीकृति सुर्खेतका ललितकुमारले पाए (फाेटाेफिचर)

६ माघ, सुर्खेत । सरकारले आजदेखि कर्णाली प्रदेशकाे राजधानी सुर्खेतबाट श्रम स्वीकृति सेवा सुरु गरेकाे छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सुर्खेतका ललितकुमार घर्तीकाे श्रम स्वीकृत भएकाे पासपोर्ट हस्तान्तरण गरेर सेवाकाे शुभारम्भ गरे ।

केन्द्र सरकारकाे वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लैजाने निर्णय अनुसार आइतबारदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृति प्रदान गर्न थालिएको हाे । वैदेशिक  रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्णय अनुसार आदेखि सुर्खेतबाट पुनः श्रम स्वीकृति जारी गरिएको हाे ।

सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरु गरिसकेको छ । त्यस्तै दोस्रो चरणमा गण्डकी प्रदेशको पोखराबाट पुस २५ गते श्रम स्वीकृति सेवा सुरू गरिसेको छ । तेस्रो चरणमा कर्णाली प्रदेशमा श्रम स्वीकृति सेवा पनि आइतबारदेखि सुरु भएकाे छ ।

प्रदेश कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले बताएका छन ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । मन्त्री विष्टले मन्त्रालय सम्हालेदेखि नै अाफ्नो मन्त्रालय मातहतका विभागबाट पाउने सेवालाई बिकेन्द्रित गर्ने र सेवा प्रवाहलाई सहजता ल्याउने निर्णय गरेका थिए ।

प्रकाशित मिति : 15:48