२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

कर्णालीको पीडा बोकेको सिनेमा ‘रेलको बाटो’को पोस्टर सहित औपचारिक घोषणा

१५ साउन, काठमाडौं । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।

फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र मुनि “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ठूलो ब्यानर देखिन्छ। उक्त दृश्यले कर्णाली राज्यको लागि ‘दर्शनीय प्रयोगशाला’ मात्र बनेको हो कि भन्ने आलोचनात्मक सन्देश दिने संकेत गर्छ।

संगीत सुरज पण्डितले तयार पार्ने छन्, छायांकन निसाल पौडेलले गर्नेछन् र पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।

सार्वजनिक पोस्टरमा देखिएको “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ।

निर्देशक सुनारका अनुसार, फिल्मले सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई कथानकको मूल विषय बनाउनेछ। कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषयहरू फिल्मको मुख्य कथा हुने जनाइएको छ।

फिल्म यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिनेछ र २०८३ सालमा प्रदर्शनमा ल्याइने योजना रहेको छ। हाल पटकथा अन्तिम चरणमा रहेको र कलाकारको टुंगो चाँडै लाग्ने निर्माण पक्षले जानकारी दिएको छ।

यसअघि सार्वजनिक भएको ‘रेलको बाटो’ शीर्षकको म्युजिक भिडियोले उल्लेखनीय चर्चा पाएको थियो। फिल्म निर्माण टिमका अनुसार, अब सोही नाममा बन्ने चलचित्रले “दुरदराजको पीडा र कहिल्यै नआउने रेलजस्तो आशा”लाई पर्दामा जीवित ढंगले प्रस्तुत गर्ने प्रयास हुनेछ।

प्रकाशित मिति : July 31, 2025 at 11:28 am