१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

अनियमितताको आरोप निराधार रहेकाे एन्फाकाे दाबी

४ माघ, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घघ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ ।

आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभयो, “चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाउनुभएको छ, जुन आरोप आधारहिन रहेको छ ।”

अध्यक्ष शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण समर्थन सहयोग गर्ने बताउनुभयो । “आरोपबारे छानबिन हुनुपर्छ । यस विषयमा छानबिन समिति बनोस्, अख्तियार, मन्त्रालय र एएफसीले छानबिन गरे हामीलाई कुनै आपत्ति छैन, छानबिन गर्न सहयोग गछौँ”, उहाँले भन्नुभयो ।

वर्तमान नेतृत्व चयन भएपछि चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग, ललित स्मृति यू–१८, ग्रासरुट फुटबल कार्यक्रम सम्पन्न गरेको बताउँदै एन्फाले यसै वर्ष साफ महिला च्याम्पियनशीप नेपालमै आयोजना गर्न लागेको जानकारी दिएको छ । “फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणदेखि कार्यशाला गरेर हामीले फुटबलको विकास गरिरहेका छौँ, केही तत्वहरुलाई यो चित्त बुझेको छैन र हामी विरुद्ध लागेका छन्”, अध्यक्ष शेर्पाले भन्नुभयो ।

यसअघि एन्फा अन्तर्गतको काठमाडाँै, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल सङ्घले निर्वाचनको क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै पत्रकार सम्मेलन गर्दै अडियो टेपसमेत सार्वजनिक गरेको थियो

प्रकाशित मिति : January 18, 2019 at 4:45 pm