२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

क्रसर व्यवसायीसँग घुस खाने वर्दियाका कांग्रेस नेता उत्तम चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ माघ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवं वर्दियाको राजापुर नगरपालिका १० का वडा सदस्य उत्तम चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

क्रसर उद्योगको दर्ता गर्न सिफारिस गरिदिने भनी सेवाग्राहीसँग चौधरीले रु दुई लाख ५० हजार घुस खाँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम असुल गरी कैद सजायको माग राख्दै मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिएकाक छन ।

चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रू.२,५०,०००।–(दुई लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई  विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको दंगालले बताए ।

चाैधरी बर्दिया, कोठियाघाट स्थित ईच्छा होटलबाट पुस १२ गते घुससहित पक्राउ परेका थिए । गत स्थानीय निर्वाचनमा चाैधरी नेपाली कांग्रेसको उम्मेदवारको रूपमा वडा सदस्यका रूपमा विजयी भएका थिए ।

यो पनि पढ्नुहोस्

–क्रसर व्यवसायीसँग घुस खाँदै गर्दा कांग्रेस नेता उत्तम चाैधरी अख्तियारको टोलीबाट रंगेहात पक्राउ

प्रकाशित मिति : 21:28