१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

केपी ओलीले धोखा दिएपछि समाजवादीमा समाहित हुने भए बामदेव गौतम

२७ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोखा दिएपछि नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गर्नुभएको छ । एमाले प्रवेशको साइत जुरेर पनि अन्तिममा समयमा धोखा पाएपछि केही समय शान्त रहनुभएको गौतम समाजवादीसँग एकीकरण गर्ने निर्णयमा पुग्नुभएको हो ।

शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एकता गर्ने गरी एउटा सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । दुई दलबिच साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भएको छ ।

सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु बिच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो । साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’

२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि गौतमले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै २०७८ भदौ १८ गते पार्टी छाड्नु भएको थियो । तत्कालीन नेकपा बामदेव गाैतमकै कारण विभाजनको डिलमा पुगेको कतिपयको तर्क समेत छ ।

प्रकाशित मिति : July 11, 2025 at 3:08 pm