कम्युनिष्ट सिध्याउँछु भन्दै इलाममा अनशन सुरू गरेका डा केसीविरूद्ध युवा विद्यार्थीको प्रदर्शन
३० पुस, इलाम । कम्युनिष्ट सिध्याउँछु भन्दै अनशन बस्न इलाम आएका गोविन्द केसीको विरूद्धमा सोमबार प्रदर्शन भएको छ । ६ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले इलाममा सोमबार जुलुस निकालेका हुन ।

‘सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारबाही गर, विधिको शासनको विरोध गर्ने होसियार’जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुससहित प्रदर्शन गरेका हुन । विद्यार्थीले अनसनरत डाक्टर केसीको मागको विरोध गरे ।

उनीहरुले अर्का अनसनरत विद्यार्थी तथा सामाजिक अभियन्ता विजय थापाको समर्थन गरेका थिए । नागरिकका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको भन्दै विद्यार्थीले आरोप लगाएका थिए । इलाम चोक बजारस्थित थापाको अनसनस्थलबाट सुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो ।

सभामा सम्बोधन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरे । प्रदर्शनकारीले राजनीतिक पूर्वाग्रहले भरिएका गोविन्द केसीको अान्दोलन नागरिका लागि नभइ कांग्रेसका लागि भएको अारोप पनि लगाए ।

प्रकाशित मिति : January 14, 2019 at 8:51 pm









