१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

श्रममन्त्री विष्टको चासाेले डेढ वर्षदेखिकाे मणिपाल अस्पतालको श्रम समस्या डेढ घण्टामै समाधान

३० पुस, पोखरा । श्रम, रोजागार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले चासो लिँदा मणिपाल शिक्षण अस्पतालमा डेढ वर्षदेखि रहेको श्रम समस्या डेढ घण्टामै समाधान भएको छ । श्रम ऐनअनुसार तलब भत्ता वृद्धिलगायतका माग राखेर मणिपाल शिक्षण अस्पतालमा डेढ वर्षदेखि चलेको मजदुर विवाद मन्त्री विष्टको सामान्य चासोमै समाधान भएको हो ।

स्थानीय स्तरमा भएको पटक पटकको प्रयास असफल भएपछि मजदुरहरूको आग्रहमा श्रम मन्त्रालयले चासो देखाएको थियो ।  २०७४ साउनदेखिको विवाद समाधान गर्न अस्पताल प्रशासनले मानेको थिएन । तर मजदुरका माध्यमबाट मन्त्रालयसम्म कुरा पुगेपछि मन्त्री विष्टले आफैँले चासो लिएर मजदूरको माग सम्बोधन नगरे कारबाही गर्ने चेतावनी दिएका थिए । मन्त्रीको चेतावनीपछि अस्पताल प्रशासनले मजदुरहरूसँग सहमति गरी माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

मन्त्री विष्टको निर्देशनपछि पुस महिनाभित्रै सहमति कार्यान्वयनमा ल्याउने र कात्तिकदेखि नै मजदुरलाई श्रम ऐनअनुसार बढेको सेवा सुविधा दिन अस्पताल प्रशासन तयार भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले दैनिकीलाइ जानकारी दिए ।

पौडेलले स्थानीय प्रशासनले दिएको निर्देशनसमेत अस्पताल प्रशासनले नमानेपछि श्रममन्त्री बिष्ट आफैंले तीन दिनभित्र समस्या समाधान गर्नू भनेर निर्देशन दिएको बताए। उनले अब अस्पताल प्रशासनले सबै कामदारको श्रम ऐनअनुसार तलब सेवा सुविधा वृद्धि गर्ने बताए । अस्पतालमा कार्यरत सबै कर्मचारीको मासिक रुपमा कम्तीमा ३६ सय ५० रुपैयाँ तलब वृद्धि भएको छ। श्रम विवाद समाधान भएपछि मजदुरहरू खुशी भएका छन । मणिपाल अस्पतालमा प्राध्यापक चिकित्सकबाहेक झन्डै ८ सय मजदुर रहेका छन्।

प्रकाशित मिति : January 14, 2019 at 6:48 pm