१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

अनेरास्ववियुः प्रकाश पौडेलको समूहबाट महासचिवमा आरके रोमश

२८ जेठ, काठमाडाैं । नेकपा (एमाले)को जनवर्गीय संगठन (अनेरास्ववियु)को नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्। कीर्तिपुरमा जारी अनेरास्ववियुको २४औं महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन लत्याउँदै निर्वाचनमा होमिएका अनेरास्ववियुका नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदै छन्।

हिजै साँझ दर्ता भएको उम्मेदवारहरूको नामावली प्रकाशन अहिलेसम्म पनि गरिएको छैन । जबकि आज बिहान ८ बजेदेखि मतदान हुने तालिका प्रकाशित भएको थियो ।

उम्मेदवारी दर्ता भए पनि अझै पनि सर्वसम्मतिको प्रयत्न गर्न निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो। तर अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश पौडेल र सुजन कडरिया दुवैले आफ्नो दाबी छोडेका छैनन्। अध्यक्ष मण्डलकै तर्फबाट कडरियाको नेतृत्वमा हिजो साँझ केही पदाधिकारी प्रस्ताव गरिएको थियो। प्रस्तावमा प्रकाश पौडेललाई उपाध्यक्ष, अञ्जना शिवाकोटीलाई महिला उपाध्यक्ष र दीपक धामीलाई महासचिव बनाउन भनिएकाे थियो। तर, उक्त प्रस्तावप्रति असहमति जनाउँदै निर्वाचनको मागसहित हलमै नाराबाजी भएकाे थियाे । यसपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो।

कडरियाको पक्षमा उपाध्यक्ष र महासचिवको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट सार्वजनिक गरिएका छ ।  पौडेलले पनि आफ्नो प्यानल बनाउन लागेका छन्। पौडेलको प्यानलबाट महासचिवमा आरके रोमश हुने निश्चित भएकाे छ । उपमहाचिवमा कमल जोशी छन् भने महिला उपाध्यक्षमा आरती भट्टराई हुने सम्भावना रहेको बताइएको छ ।पौडेलको प्यानलबाट अरु पद पनि मिलाउने प्रयत्न भइरहेको नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १५:४७