ट्रेड टावर लिमिटेडको आइपीओ कहिले हुन्छ बाँडफाँड ?
२८ जेठ, काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ असार १ गते आइतबार बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त मितिमा आईपीओ बाँडफाँड गरिने भए पनि समय भने तय भएको छैन् ।
कम्पनीको आईपीओमा २१ लाख ६९ हजार ८९१ जना आवेदकले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका छन्। यो मागभन्दा ७।८२ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर पाउनेछन्, भने १८ लाख ४० हजार २४१ जनाको हात खाली हुनेछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ दरमा कुल ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो।
प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १४:३९