१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

भ्रष्टाचारका लागि हानाथाप, घुसखोर मन्त्रीको टुपी उखेल्ने सचिवको चेतावनी (भिडियोसहित)

२९ पुस, काठमाडौँ ।  आफ्नो एनजीओलाई पैसा नदिएको भन्दै प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि कुटपिट गरेपछि सचिवले मन्त्रीको टुपी उखेल्ने चेतावनी दिएका छन । आफ्नै एनजिओमा योजना पारेर भ्रष्टाचार गर्न नपाएको झोकमा मन्त्रीले सचिवलाइ कुटपिट गरेका हुन । मन्त्री यादवले आइतबार उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएर पछि अस्पताल लगेको थियो ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताएका छन । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकामा ४० वटा संस्था छनोट हुँदा पनि मन्त्रीको एनजीओ परेको थिएन ।

छनोट भएका एनजिओबाट कमिसन पनि नपाउने र आफ्नो एनजिओ पनि नपरेपछि मन्त्री यादव आक्रोशित भएको उनकै मन्त्रालयमा कार्यरत एक अधिकृतले बताए । कसले बढी शक्ति लगाएर पैसा कमाउने भन्ने विषयमा विवाद हुँदा कुटपिट भएको उनले बताए । कुटाइ खाएपछि रन्थनिएका झाले आफूले गल्ती नगरेको दाबी गर्दै मन्त्रीलाइ तथनाम गाली गरेका छन । उनले वन मन्त्रालयका कर्मचारीलाइ समेत गाली गर्दै धर्ना दिन उर्दी दिएका छन । उनले मन्त्री घुसखोर भएको भन्दै यो मन्त्री कति दिनलाइ हो भन्दै मन्त्रीको टुपी उखेल्ने बताए ।

यसैबीच यस घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । छानबिन समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल रहेका छन ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार २२:३०