अनेरास्ववियुको २४ औँ महाधिवेशन नियुक्ति सम्मेलन हुनबाट जोगियो, सुजन र प्रकाश प्रतिस्पर्धा गर्दै
२८ जेठ, काटमाडौँ । नेकपा (एमाले)को जनवर्गीय संगठन (अनेरास्ववियु)को २४ औँ महाधिवेशन नियुक्ति सम्मेलनमा रूपान्तरण हुनबाट जोगिएको छ । वर्तमान सचिव प्रकाश पौडेलको अडानका कारण अनेरास्ववियुका सयौँ प्रतिनिधिले उम्मेदवार भएर कार्यकर्ताको बीचमा आफूलाई परीक्षण गर्न पाउने भएका छन । अनेरास्ववियुको नेतृत्वमा सुजन कडरिया पार्टीका नेताहरूको तर्फबाट नियुक्तिको सूचीसहित मैदानमा होमिदै छन भने प्रकाश प्रतिनिधिहरूको बलमा प्यानल बिनै प्रतिस्पर्धामा उत्रिएका छन ।
अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । सर्वसम्मतिका नाममा अध्यक्षमण्डलका अध्यक्ष एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कडरिया प्यानलको सूची बन्दसत्रको हलमा प्रस्तुत गर्दैगर्दा होहल्ला भएपछि प्यानलका सबैको नाम नपढी छाडिदिएका थिए ।
उम्मेदवारी दर्ता नै भएपछि अब विद्युतीय मेसिन मार्फत मतदान हुने तयारी भएको अनेरास्ववियुले जनाएको छ । दुई उपाध्यक्षका लागि नाै जनाले उम्मेदवारी दिएका छन । जसमा खुल्ला उपाध्यक्षमा भरत धामी, राजकुमार ढकाल, धमेन्द्र केसी, विकास श्रेष्ठ र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा आरती भट्टराई, अञ्जना सिवाकोटी, सुजिता धिताल र भवानी बजगाईँको उम्मेदवारी दर्ता भएको छ ।
महसचिवको एक पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा आरके रोमस, दीपक धामी र सुनिल कँडेल रहेका छन । धामी अध्यक्षको दाबी छाडेर सुजनको प्यानलमा होमिएका हुन । यस्तै उपमहासचिवमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीको उम्मेदवारी दर्ता भएको छ ।
सचिवमा रक्षा बम, मदन भण्डारी, राजेश ओली, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना लगायत ४३ जनाको उम्मेदवारी परेको छ । ४३ जनाबाट ४ जनामात्र निर्वाचित हुनेछन । ९ पदाधिकारीसहित कुल १५१ सदस्यीय कमिटीका लागि ५२१ जनाले उम्मेदवारी परेको अनेरास्ववियुका पूर्व अध्यक्ष माधव ढुंगेलले जानकारी दिएका छन ।
प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार ११:३२