३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

२५ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताउनुभएको छ । विश्व म्याराथनको साझा संस्था एशोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलन सक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तरराष्ट्रिय सङ्गठनले नेपालको खेल पर्यटनलाई प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।

उहाँले विश्वशान्ति, भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्व रहेको बताउँदै त्यसमा पनि दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुद क्षेत्रको विकासका लागि बर्सेनि लगानी बढाइरहेको जानकारी दिँदै उहाँले निजी क्षेत्रबाट पनि खेलकुदको विकासमा सहयोग भइरहेको बताउनुभयो । एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनोट गरिएकामा राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १४:४२