सर्वोच्चको आदेशले माओवादीमा भूइँचालो, गृहमन्त्रीको राजिनामाको अडानबाट पछि हड्ने संकेत
२२ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख समते रहनुभएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अपहरण र हत्या मुद्दामा अनुसन्धान गर्ने बाटो खोलिदिएपछि माओवादीभित्र भूइँचालो गएको छ । बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको पार्टीको पदाधिकारी बैठकमा सर्वोच्चको आदेशको समिक्षा गर्दै जिम्मेवार र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।
बैठकपछि पार्टी प्रवक्ता समेत रहनुभएको उपाध्यक्ष सापकोटाले खुमलटारमा बसेको पदाधिकारी बैठकले सिर्जनात्मक, रचनात्मक ढंगले संसद्को निकास निकाल्न लाग्ने निर्णय गरेको जानकारी दिनुभयो । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जेठ २१ गते बुधबार सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान गर्ने बाटो खुलेको छ।
माओवादीका धेरै नेता व्यक्ति हत्याको मुद्दामा जेल जाने जोखिम रहेको विश्वलेषण गर्दै सत्तासँग सहकार्यगर्दै अघि बढ्ने निष्कर्ष माओवादीले निकालेको हो । सपाकोटाले अब संसदको अबरोध हटाउने कोषणबाट छलफल हुने र त्यसैमा निकास निकालिने बताउनुभएको छ । उहाँले भन्नुभयो,‘सरकार पक्ष र विपक्ष पार्टीसँग पनि छलफल गर्नुपर्ने छ। धेरै गम्भीर विषय भएकाले छानबिनका लागि एउटा बाटो बनाउनु पर्छ र सदनमा छलफलको बाटो पनि हुनुपर्छ भन्ने आजको छलफलमा निष्कर्ष निस्केको छ।’
माओवादी २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरेर असारको दोस्रो साता हत्या गरेर बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा शव गाडिएको अवस्थामा फेला परेको थियो । शान्ति प्रक्रिया सुरू भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता सापकोटा, दोङलगायतविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि पूर्णिमायाले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
प्रकाशित मिति : 11:47









