१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

विदेशी मुद्रा सटही गरिदिने भन्दै सुनका गहना र नगद ठगी गरेको आरोपमा दुईजना पक्राउ

२१ जेठ, काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरे सो बापत रकम दिने भन्दै झुक्यानमा पारी सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ बस्ने ३८ वर्षीय दानबहादुर तामाङ तथा सोही ठाउँको वडा नं १२ बस्ने २६ वर्षीय दानबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाले सोमबार काठमाडौँका विभिन्न स्थानमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरी दिए सो बापत रकम दिउँला भनी झुक्यानमा पारी साथमा रहेका सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।”

निजहरुको साथबाट प्रहरीले रु १० को नेपाली रुपैयाँ एक सय थान तथा दुई मोबाइल सेट बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरुलाई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई सो सम्बन्धमा अनुसन्धान भइरहेको र हालसम्म निजहरूका विरुद्ध १० वटा जाहेरीसमेत पर्न आएको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 4, 2025 at 4:23 pm