खाद्य संस्थानको वीरगञ्ज कार्यालयले एक करोड बढीको धान किन्यो
२९ पुस, पर्सा । वीरगञ्ज यहाँस्थित नेपाल खाद्य संस्थान कार्यालयले रु एक करोड १३ लाख ७७ हजार ४०० मूल्य बराबरको चार हजार ६२४ दशमलव २३ क्विन्टल धान खरिद गरेको छ ।
सरकारले प्रतिक्विन्टल रु दुई हजार ४६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३०० देखि ४०० क्विन्टल धान खरिद गर्दै आएको छ । चालु आर्थिक वर्षमा १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्य लिएकामा संस्थानले हालसम्म ३३ प्रतिशत लक्ष्य प्राप्ति गरी उक्त मूल्य बराबरका धान खरिद गरेको शाखा प्रमुख अम्विकाप्रसाद घिमिरेले बताउनुभयो ।
निजी क्षेत्रका व्यापारीले प्रतिक्विन्टल दुई हजार ५०० मा धान खरिद गर्दै आइरहेका छन् । निजी क्षेत्रका गल्ला व्यापारी उधारोमा धान खरिद गर्ने गरेको भए पनि संस्थानले नगदमा धान खरिद गर्दा कतिपयले संस्थानलाई नै बेच्दै आइरहेका छन् ।

संस्थानसँग जापान सरकारले दुर्गम क्षेत्रका लागि अनुदानमा दिएको जापानी चामल दुई हजार ४०० क्विन्टल, जिरा मन्सुली छ हजार क्विन्टल र सोना मन्सुली एक हजार क्विन्टल मौज्दात अवस्थामा रहेको छ । संस्थानसँग ६० हजार क्विन्टल क्षमताका छ गोदाम रहेका छन् । संस्थानले उत्पादन गर्ने चामल पर्सा, रौतहट, मकवानपुर र भरतपुर कारागारलाई समेत बेच्दै आएको छ ।
प्रकाशित मिति : January 13, 2019 at 3:09 pm









