४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी

१९ जेठ, काठमाडौं । आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल भइरहेको छ । गृहमन्त्रालयमा केहीबेर अघिदेखि दुई पक्षबीच छलफल सुरु भएको हो ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ। सार्वजनिक यातायात नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा निजी सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएकामा आपत्ति जनाउँदै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । गण्डकी प्रदेश सरकारले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको उनीहरूकाे भनाइ छ । उनीहरुको आन्दोलनको कारण काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १०:१८