३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का

१६ जेठ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले बर्सातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको हो ।

“कम्तीमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने पनि क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ”, मन्त्री खड्काले भन्नुभयो,“ यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन सरकार लागिरेहको छ ।”

उहाँले मौसम पूर्वसूचना प्रणालीबारे जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्न सके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो । उहाँले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताउनुभयो ।

प्रकाशित मिति : May 30, 2025 at 3:03 pm