६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

पाँच वर्षभित्रमा सरकारले जनताबीच गरेका प्रतिबद्धता पूरा हुन्छः मन्त्री विष्ट

२८ पुस, पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले समृद्ध देश निर्माणको धरातल निर्माण गरिरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “सडक, रेल, सिँचाइ, जलस्रोत, केबलकारलगायत मुलुकको समग्र विकासका लागि अवधारणा बनाएर अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ ।”

“पाँच वर्षभित्रमा सरकारले जनताबीच गरेका प्रतिबद्धता पूरा गर्ने तयारीका साथ काम गरेको छ, त्यसका लागि अहिले हामीले फाउण्डेशन (धरातल) तयार गरिहेका छौँ, समय लाग्ला तर सरकारले परिणाम दिएरै छाड्छ”, मन्त्री विष्टले भन्नुभयो ।

उहाँले सार्वजनिक, सहकारी र निजी क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गरी देशमा व्याप्त बेरोजगारी समस्या समाधान गरिने उल्लेख गर्दै आम्दानीको स्रोत नभएका परिवारका सदस्यले काम गर्ने चाहना राख्दा पनि काम दिन नसके त्यस्ता परिवारलाई वर्षमा ५० दिन बराबरको निर्वाह भत्ता सरकारले उपलब्ध गराउने बताउनुभयो । रासस

प्रकाशित मिति : 23:41