१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

परराष्ट्रमन्त्री डा राणा हङकङमा

१५ जेठ, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज हङकङ पुग्नुभएको छ । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ गएराति हङकङ प्रस्थान गर्नुभएको मन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।

जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदैछ । सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।

मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता हुनुहुनेछ । परराष्ट्रमन्त्री डा राणा आगामी शनिबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : May 29, 2025 at 11:32 am