अग्रगति र प्रगतिलाई देख्न नचाहने तत्वहरू सगबगाउन थालेः वरिष्ठ उपाध्यक्ष पोखरेल
१४ जेठ, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अग्रगति र प्रगतिलाई देख्न नचाहने तत्वहरू सगबगाउन थालेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । गणतन्त्र दिवसको पूर्व सन्ध्यामा फेसबुकमा एउटा टिप्प्णी राख्दै उहाँले प्रतिगमनका प्रयत्नलाई पराजित गर्दै जनस्तरमा मनाइने गणतन्त्र दिवस समारोहमा सक्रियताका साथ सहभागी बन्न अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘प्रतिगमनका प्रयत्नलाई पराजीत गरौं ! जनस्तरमा मनाइने गणतन्त्र दिवस समारोहमा सकृयताका साथ सहभागी बनौं !!’ वरिष्ठ उपाध्यक्ष पोखरेलले अगाडी उल्लेख गर्नुभएको छ, ‘कुनै पनि नाममा कायम गरिने जन्मसिद्ध विशेष अधिकार, वंश परम्परामा आधारित तथा अनिर्वाचित शासन सत्ताप्रति असहमती र विरोधको जगमा अहिलेको लोकतान्त्रिक गणतन्त्र खडा भएको हो । लामो संघर्ष र त्यसमा प्राप्त गरेका अनेकौं अनुभवका आधारमा नेपाली जनता यो ऐतिहासिक उपलव्धीका हकदार बनेका हुन् ।’

यस्तै उहाँले लोकतन्त्र – गणतन्त्र स्थापनापछि महत्वपूर्ण र ऐतिहासिक उपलव्धिहरू हाँसिल भए पनि यसले अनेकौं उतारचडावपूर्ण मोडहरू पार गर्दै अगाडि बढिरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘देखिने र कतिपय बेला नदेखिने , देशभित्रका र बाहिरका पनि शक्तिहरूद्वारा सिर्जीत समस्याहरूसित योग्यतापूर्वक जुद्धै र परिपक्वता प्राप्त गर्दै अहिलेको अवस्थामा हामीहरू आइपुगेका हौं । सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको हो । इतिहासमा सुरक्षित यो महान र ऐतिहासिक प्रशंगलाई कसैले पनि बिर्सन मिल्दैन ।’
उहाँले भन्नुभएको छ, ‘अग्रगति र प्रगतिलाई देख्न नचाहने/ देख्न नसक्ने र पुनरउत्थानको सोच राख्ने पक्षहरू प्रतिकृयावादी मात्र होइनन् , प्रतिगामी शक्तिका मतियार हुन् – प्रतिगामी नै हुन् । आज त्यस्ता तत्वहरू सगबगाउन थालेका छन् । यो सगबगाहट पुनरउत्थानका लागि हो । यतिवेला पुनरउत्थानको प्रयत्न जन्मसिद्ध विशेषाधिकार, वंश परम्परामा आधारित शासन सत्ता र अनिर्वाचित शासन सत्ताको पुनर्स्थापनाको चाहना नै हो । राजतन्त्र स्थापना गर्ने कुरा त्यसैको ठोस अभिव्यक्ति हो । पुनरउत्थानका लागि गरिने कुनै पनि प्रयत्न मासिनैपर्ने/ नासिनैपर्ने विषय हुन् । विगत र भविष्य नभएका शक्तिहरू पनि लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने हतियार बन्ने कोशिस गरिरहेका छन् ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नदेखिने गरी केही बाह्य शक्तिहरू यही खेलमा खेलाडी बन्ने प्रयत्न गरिरहेको आभाष भैरहेको बताउनु पनि भएको छ । उहाँले भन्नुभएको छ, ‘नदेखिने गरी केही बाह्य शक्तिहरू यही खेलमा खेलाडी बन्ने प्रयत्न गरिरहेको आभाष भैरहेको छ । यसपटक गणतन्त्र दिवस मनाउन आयोजना भइरहेको जनस्तरको समारोहमा सहभागी हुनुहुने हरेक सहभागीले यिनै कुरा बुझेर सकृय सहभागी बनौं र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढतापूर्वक अघि बढौं !’
प्रकाशित मिति : 17:04









