१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

युवा संघ महाधिवेशनमा ओलीकै नियुक्ति अनुमोदन, अध्यक्षमा क्षितिज थेबे विजयी

१३ जेठ, पोखरा । नेकपा एमालेको सबैभन्दा क्रियाशिल जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे विजयी हुनुभएको छ । उहाँले सुमन पुरीलाई पराजित गर्नुभयो । माहाधिवेशन अघि नै प्रधानमन्त्री निवास बालुवाटारमा केही नेतालाई राखेर प्रधानमन्त्री समेत रहनुभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले थेबेलाई अध्यक्ष बनाउन निर्देशन दिनुभएको थियो ।

सुमन पुरी समूहले निकै जोड बल गरेपछि मंगलबार बिहान मतदान भएको थियो । मतदानमा थेबेले ७९६ मत प्राप्त गर्नुभयो भने पुरीले ६०८ मत प्राप्त गर्नुभयो । थेबेले १८८ मतान्तरमा पुरीलाई पराजित गर्नुभयो । त्यसअघि थेबेलाई युवा संघको अध्यक्षमा दोहोर्याउन नहुने भनेर लागेका संघका पूर्व अध्यक्षदेखि पार्टीका सबै नेता ओलीको निर्देशन कार्यान्वयनमा लागेका थिए । जसका कारण महाधिवेशन नै दुई दिन लम्बिएको छ ।

कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ ले मतदानमा सहभागिता जनाएका थिए । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी हुनुभएको छ ।

अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा विजयी हुनुभएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १९:३९