१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

नेपालमा पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ हुने

२७ पुुुस, काठमाडौँ । नेपालमा पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगत्गुरु रामानन्दाचार्य सेवापीठ सुनसरी तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरले आज पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीको चतराधाममा पहिलोपटक महायज्ञ गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महायोगी सिद्धबाबा श्री श्री १००८ श्रीवैष्णव कृष्णदासजी महाराजले हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ्य नेपाल, स्वावलम्बी नेपाल, समृद्ध नेपाल र संस्कारी नेपाल निर्माणका गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।

“महायज्ञले मुलुकको धर्म, संस्कार, संस्कृति, राष्ट्र, राष्ट्रियतालाई बलियो बनाउन मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो । महायज्ञमा सहभागी हुने अनुष्ठानीदेखि साधु, सन्त, महात्मा जगद्गुरुलगायतका दुई हजारभन्दा बढी अतिथिको उचित आवासको लागि रु आठ करोड लागतमा १२६ कोठे आवास निर्माण कार्य भइरहेको सम्मेलनमा जानकारी गराइयो ।

जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले महायज्ञका लागि गत वर्षको महाशिवरात्रिदेखि देश विदेशमा रहेका एक हजार २०० साधक साधिकाले कूल एक अर्ब ६० करोडको सङ्ख्यामा मन्त्र जप अनुष्ठान गरिरहेको बताउनुभयो ।

नेपालमा विभिन्न समयमा विभिन्न खालका महायज्ञ हुने गरे पनि विधि पु¥याएर गर्न लागिएको पहिलो महायज्ञ भएको आयोजकले जनाएको छ । यसभन्दा अगाडि रामानन्द महाराजाको नेतृत्वमा छ करोड जप मन्त्र गरेर भारतको काशीमा महायज्ञ गरिएको थियो ।

प्रकाशित मिति : January 11, 2019 at 3:32 pm