सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छः महेशकुमार बर्तौला
५ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले सहयोगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध विशेष समयमा सहभागी हुँदै सांसद बर्तौलाले राज्यका तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा जोड्नका लागि सहलगानीका प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।
“अनौपचारिक क्षेत्रका झण्डै ४० लाख श्रमिकलाई कोषमा जोड्न सहयोगदानमा आधारित प्रक्रिया अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि प्रत्येक महिना श्रमिक वा योगदानकर्ता र सरकारले रकम जम्मा गर्ने प्रावधानअनुसार हुनुपर्छ । यसले श्रमिक आत्मनिर्भर र स्वरोजगार बन्न सहयोग पुग्छ ।”
उहाँले हुम्लाको तिलगाउँमा हिमताल फुटेर गएको पहिरोबाट त्रासिद बासिन्दाको तत्काल उद्धार, पुनःस्थापनाका लागि आवश्यक संयोजन र आवश्यक राहतको व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानार्कषण गराउनुभयो ।
“यस्तो प्रकृतिको घटना देशका अन्य ठाउँहरूमा पनि अब क्रमशः हुनसक्छ । सरकारको पूर्वसावधानी र पूर्वतयारी प्रभावकारी ढङ्गबाट हुनुपर्छ”, सांसद बर्तौलाले भन्नुभयो ।
प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार १३:२९