विद्युत् प्राधिकरणले अव सात दिनभित्रै नयाँ मिटर दिने
२६ पुस, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।

प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमशः १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको प्राधिकरले जनाएकाे छ ।
मुलुकभर विद्युतभार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ ।
प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा पनि उजुरी गर्न सकिने व्यवस्था समेत गरिएको छ ।
प्रकाशित मिति : 14:29







