बागबजारमा नुवाकोटकी विमलाको हत्या, पक्राउ परे धादिङका रामचन्द्र
३१ वैशाख, काठमाडौं । काठमाडौंको बागबजारमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
नुवाकोट सूर्यगढी गाउँपालिका-१ घर भई काभ्रेस्थलीनै बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो । चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा तामाङको शव फेला परेको थियो। मृत फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको क्रममा उनीसँगै बसेका पुरूष फरार रहेको खुलेको थियो। हत्या गरेर उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ थियो । उनी काठमाडौं आउँदै गरेका बेला नागढुंगाबाट पक्राउ परेको परिसरका प्रवक्ता तथा सूचना अधिकारी अपील राज बोहराले बताउनुभयो । पक्राउ परेका पन्त पूर्व सैनिक रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : May 14, 2025 at 12:58 pm









