लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा
३० वैशाख, बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिनुभएकाे छ। मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै उहाँले सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेख्नुभएकाे हाे । गुरूङ जनमत पार्टीकी समानुपातिक सांसद हुनुहुन्छ ।
उहाँले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ । ‘देशको हालको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला,’ सभामुखलाई सम्बोधन गर्दै गुरुङले लेखेका पत्रमा भनिएको छ, ‘तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता, आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ। राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’

प्रकाशित मिति : 12:54









