निर्मला पन्तकी आमाले दिइन् डीएनए परीक्षणका लागि रगतको नमूना
२५ पुस, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिन लागिएकाे हाे । निर्मलाकी आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी हुन् ।

निर्मलाकाे बलात्कारपछि हत्या गर्ने व्यक्ती अहिलेसम्म पक्राउ परेका छैनन् । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै दुर्गादेवी बिहान जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगेकी थिइन् । त्यहाँ प्रहरी प्रमुख एसपी कुवेर कडायत, अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझालगायतले रगत निकाल्ने काम अस्पतालमा मात्रै हुने बताएपछि उनलाई महाकाली अस्पताल लगिएको थियो । रगतको नमुना परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ ।
अब दुर्गादेवीको रगतबाट निकालिने डीएनएसँग निर्मलाको स्वाबको डीएनए प्रोफाइललाई भिडाएर वैधानिकता जाँचिनेछ । यो प्रकरणमा प्रहरीसँग भएको प्रमाण भनेको निर्मलाको स्वाबबाट निकालिएको वाइ एसटीआर डीएनए प्रोफाइल मात्र हो । तर, त्यसमाथि पनि अहिले प्रश्न उठ्न थालेको छ ।
प्रकाशित मिति : 16:59







