सुरक्षाकर्मी र शिक्षकबीच द्वन्द्व सिर्जना गरेर समस्या हल हुँदैनः ठाकुर गैरे
१६ वैशाख, काठमाडाैं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न प्रतिपक्षी दलहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभएकाे छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले शिक्षकका जायज माग सम्बोधन गर्न प्रतिपक्षी दलहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभएकाे हाे ।
सांसद ठाकुर गैरेले शिक्षा ऐन संशोधनको आवश्यकता औँलयाउँदै सुरक्षाकर्मी र शिक्षकबीच द्वन्द्व सिर्जना गरेर समस्या हल नहुने भएकाले संवादमार्फत निकास खोज्न आग्रह गर्नुभयो । अहिले शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको उहाँले बताउनुभयो ।
“विक्रम संवत् २०२८ मा बनेको शिक्षा ऐनबाट अहिले शैक्षिक क्षेत्र चलाउनु उचित छैन”, सांसद गैरेले भन्नुभयो । संविधानले दिएको मौलिक हकका रुपमा रहेको शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक भएको सांसद गैरेले बताउनुभयो । दिगो विकासका लक्ष्य हासिल गर्ने, २०८० सालको दशकलाई समृद्धिको दशक बनाउने, सामाजिक न्याय र विकासका अपेक्षा पूरा गर्नुपर्ने गरी सरकारका नीति तथा कार्यक्रम आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १४:३९