नबिल बैंकको नाफा ८.२१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
७ वैशाख, काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा ७.३८ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब १६ करोड २३ लाख पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेको छ।
यो अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९।५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १०:०३












