२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

पर्यटनमा नयाँ आयामः डिजिटल नोम्याड

-अर्जुन पाण्डे

मानव इतिहास

भनिन्छ मानव सभ्यताको विकास इतिहास नै एक ठाउँदेखि अर्को ठाउँसम्मको भ्रमणको हो । ढुंगे युगका मानिस समुह समुहमा हिँड्थे । खानेकुरा खोज्न र सुरक्षित रहन एक ठाउँदेखि अर्को ठाउँ सर्थे । कृषि र ब्यापारको युगमा आइपुगेको मानिस आफ्नो ब्यापार र प्रभुत्व विस्तार गर्न हिँड्यो । अठारौं र उन्नाइसौं सताब्दिको पछिल्लो समयसम्म पनि यो क्रम चल्यो, ठूला ठूला युद्धहरु भए । यि घुमन्तेहरु आफ्नो साम्राज्य बढाउन युरोपदेखि विश्वभर फैलिएका थिए । यता यशियामा चाहिँ यिनलाइ फिरंगी भनिन्थ्यो । उतिबेला हाम्रो यतातिर चाहिँ मान्छे यिनलाइ गोरा, कुइरे, खैरे पनि भन्थे । यि घुमन्तेहरुको इतिहास बिचित्रको छ, रमाइलो छ ।

यहाँ चर्चा गर्न लागिएको घुमन्तेहरु चाहिँ अलि फरक प्रकृतिका हुन् । सन् १९९७ मा दुइ लेखक सुगियो माकिमोतो र डेभिड म्यानरसले एउटा पुस्तक लेखेका थिएः “डिजिटल नोम्याड” जसमा उनिहरुले त्यतिबेला नै यो घोषणा गरे कि सूचना प्रविधिको तीब्र विकासको गतिले अब छिट्टै समाजको बनोट काफि बदलिने छ र यसले मानिसको काम गर्ने तौरतरिकामा क्रान्ति ल्याउनेछ । पुस्तकमा उनिहरुले प्रविधिमा आएको परिवर्तनले मानिसहरु जहाँ बसेर पनि काम गर्न सक्ने हुँदैछन्, जसले गर्दा पुनः घुमन्ते युगमा मानिहरु फर्किन सक्नेछन् भनेर उल्लेख गरेका थिए ।

उनिहरुको यो भविष्यबाणि कुनै अप्रत्याशित घटना त थिएन नै किनकी त्यतिबेला सूचना प्रविधिमा कम्प्युटर र इन्टरनेटको विकासले एक पछि अर्को फड्को मार्दै थियो । कुनै पनि सूचना माउसको एक क्लिकमा सेकेण्ड भरमा पृथ्वीको फन्को लगाउने प्रविधिको विकास भएपछि कैयन अपत्यारिला कामहरु सहज हुँदै थिए । न्यु योर्कबाटै द माउन्ट सिन्नाइ हस्पिटलका सर्जनले साउथ अफ्रिकाको टाइगरबर्ग हस्पिटलको अपरेशन थिएटरका विरामीका अप्रेशन गर्न सघाउन संभव भएको थियो ।

वर्क फ्रम होम

यस्तैमा २०१९ मा कोभिड माहामारी शुरु भयो जसले विश्वलाइ केही समय हलनचल बनायो । लकडाउनका कारण ठूला ठूला शहर, संगठन, अफिस, ब्यावसाय आदि नराम्ररी प्रभावित बने । मानिस घर बाहिर आउन, सार्बजनिक संपर्कमा जान बन्द भयो । यस्तो प्रतिवन्धले मानिसका दैनिकि केही समय रोकिए पनि सँधै पूर्ण रुपले ठप्प हुन संभवै थिएन, भएन पनि । सूचना प्रविधिका कतिपय कार्यहरु यस अघि नै घरबाट गर्न सकिने भएका थिए तर आम काम त्यस्ता प्रकृतिका नहुनाले घरबाट गर्न सहज थिएन ।

सरकारी गैरसरकारी संघ संगठनका कार्यहरु अफिस बन्द हुँदा पनि सुचारु हुने तरिका के हुन सक्छ ? अफिस हाजीर नभै, वा घरबाटै यि कामहरु कसरी गर्न सकिन्छ ? यो प्रश्नलाइ समाधान गर्न अधिकांश कामका प्रकृतिहरुलाइ प्रविधि मैत्री बनाउने लहर नै चल्यो जसले गर्दा कैयन कार्यहरु अफिस नआइ घरबाटै गर्न सकिने भयो । यसरी विकास भयोः वर्क फ्रम होम कल्चर । अब सरकारी, गैरसरकारी, संघ संस्था, स्कूल, कलेजका पठन पाठन मात्र होइन बैंकिंग र धेरै ठूला ब्यावसायिक कार्यहरु समेत कम्प्युटरको सहायताले घरबाटै गर्न सकिने भयो । तत्पश्चातका दिनहरुमा वर्क फ्रम होम वा रिमोट वोर्क विश्वभर लोकपृय हुँदै गैरहेको छ । २०२५ मा प्रकाशित एक तथ्यांक अनुसार अमेरिकामा २२.८ प्रतिशत ( ३२.६ मिलियन ) अमेरिकिहरु रिमोट वोर्कमा रहेका देखिएको छ ।

डिजिटल कम्पनी

काम मात्र होइन आज कम्पनीहरु समेत डिजिटल प्रकृतीका हुन थालेका छन् अर्थात कुनै भौतिक अस्तित्व विना पनि कम्पनीहरु खुलेका छन् । करिब १४ लाख जनसंख्या भएको उत्तरी युरोपेली मुलुक इस्टोनियाले विश्वका जुनसुकै मुलुकका मानिसलाइ इस्टोनियामा एउटा बिद्युतीय नंवर लिएर ब्यापार ब्यावसाय गर्न सक्ने ब्यवस्था गरेको छ । यस्तो कम्पनी खोल्न न त त्यहाँ जानु पर्छ न त त्यहाँ बसोबास नै गर्नु पर्छ । घरमै बसी बसी सबै काम विद्युतिय माध्यमबाटै हुन्छ । यसरी उसले विगत १० बर्षको अवधिमा १२०००० बिद्युतिय निवासी र तेत्तिस हज्जार त्यस्ता विदेशी कम्पनीहरुलाइ भित्र्याउन सफल भएकोे छ । ति कम्पनीहरुको बार्षिक कुल कारोबार १५ अर्ब युरो भन्दा बढि छ ।

अर्को यस्तै उदाहरण छः ग्रोथजला इन्क । तीन जना नेपाली युवाले सन् २०१४ मा संयुक्त राज्य अमेरिकामा खोलेको यो कम्पनीको कुनै भौतिक कार्यालय छैन । अहिले कम्पनीमा ४० जना भन्दा बढि कर्मचारी छन् तर उनिहरु तीन मुलुकका १० वटा भन्दा बढि शहरमा आफ्नै घरबाट वा कार्यस्थलबाट काम गर्छन् । यस्ता कामदारहरु विभिन्न मुलुकमा छरिएर रहने मात्र होइन एक ठाउँबाट अर्को ठाउँमा घुम्दै घुमन्ते जीवन बिताइरहेका पनि हुन्छन् ।

डिजीटल नोम्याड

नोम्याड अंग्रेजी शब्द हो, जसको अर्र्थ हुन्छ घुमन्ते, जो एक ठाउँमा स्थयी रुपले बस्दैन । डिजिटल नोम्याडको अर्थ हुनेभो ः विद्युतीय घुमन्ते मानिस । रिमोट वोर्क प्रणालीको प्रचलन बढ्दै जानाले माकिमोतो र म्यानरसले भने जस्तै आज विश्वको श्रम बजारको रुप बदलिएको छ । को ? कहाँको काम ? के गर्दै छ ? फ्याट्ट भन्न सजिलो छैन पहिले झैं । जस्तैः अहिले एउटा नेपाली कामदार अमेरिकाको एउटा कम्पनीको काम गर्छ, सिंगापुरमा बस्छ । त्यस्तै एउटा अफ्रिकी कामदार फ्रेन्च कम्पनीको काम गर्छ, कहिले थाइलैण्डमा बस्छ, कहिले जापान त कहिले अमेरिका । उसलाइ एउटा ल्यापटप र इन्टरनेट भए पुग्यो, उ जहाँ पनि बस्न सक्छ । यसरी आज काम पनि गर्दै, पैसा पनि कमाउँदै विश्वका विभन्न देश, शहर घुमिरहने एउटा ठूलो जमात नै तैयार भएको छ । अन्तर्राष्ट्रिय श्रम संंगठनले गरेको एक अध्ययन अनुसार विश्वब्यापि रुपमा करिब १८ प्रतिशत त्यस्ता रिमोट वर्करहरु रहेको जनाइएको छ । यो संख्या तीन करोड पचास लाख रहेको अनुमान गरिएको छ जुन दिनानुदिन बढ्दो छ, थपिँदो छ ।

डिजिटल घुमन्तेहरुका तीन मुल मक्सद रहेको देखिएको छ । पहिलोः आकर्षक पे भएका कम्पनीका काम लिने । दोश्रोः सस्तो, शान्त, रमणिय र सुरक्षित स्थलमा बस्ने । तेश्रोः नयाँ नयाँ मुलुक र शहर घुम्ने । पश्चिमि विकसित देशका ठूला कम्पनीहरुका काम गर्ने रिमोट वोर्करका पे स्वभावैले बढि हुन्छ जुन त्यहाँको शहरमा बस्न, खानलाइ ठीक्क हुन्छ तर यशिया तथा दक्षिण यशियाका देश भारत, नेपाल, थाइलैण्ड, मलेसिया जस्ता देशहरुमा बस्ने हो भने त्यै कमाइले सुविधाजनक बसाइ, घुमाइ गरिकन केही बचत पनि हुने हुन्छ । त्यै सहजताका कारण हाल डिजिटल घुमन्तेहरु यि देशहरु तर्फ आकर्षित भैरहेकाछन् । विश्वका धेरै देशहरुले यस्ता घुमन्तेहरुलाइ आफुतिर आकर्षित गर्न उनिहरु अनुकुल सहज भिसा र बसाइ लम्ब्याउने अन्य सजिलो नीतिहरु बनाएका छन् ।

डिजिटल नोम्याड भिसा

कमाइ मनग्गे गर्ने, खर्च पनि प्रसस्त गर्ने र लामो समय बस्ने प्रकृतिका हुनाले यस्ता घुमन्तेहरुलाइ आफ्नो देशमा सहज प्रवेश दिन र उनिहरुलाइ काम गर्ने बातावरण बनाइदिन विभिन्न देशले आआफ्नै खालका अभ्यास गरेका छन् । घुमन्ते रिमोट वर्करहरुका निम्ति ति देशहरुमा अलग्गै डिजिटल नेम्याड भिसा को ब्यवस्था गरिएका छन् । जस अन्तर्गत यस्ता वर्करहरुले आफू कुनै देशको कम्पनीको रिमोट वर्कर भएको प्रमाण र निश्चित आमदानी हुने गरेको बैंक स्टेटमेन्ट प्रस्तुत गरेका आधारमा सहजै डिजिटल नोम्याड भिसा प्राप्त गर्दछन् ।

त्यस्तै जर्जियाले वर्क फ्रम जर्जिया नीति लिएको छ जस अन्तर्गत कुनै पनि विदेशी कम्पनीले डलरमा पठाएका पारिश्रमिकलाइ स्थानीय बंैक मार्फत परिवत्र्य मुद्रामा लिन सकिने सहज बैंकिंग ब्यवस्था र सरलिकृत डिजिटल नोम्याड भिसा दिइएको छ । यता नाम मात्रको कर प्रणाली लागु गरेको छ । बार्षिक १५०००० डलर भन्दा कम आमदानी छ भने १ प्रतिशत कर तिरे पुग्छ ।

यता थाइलैण्डले यस्ता घुमन्ते रिमोट वोर्करहरुको निम्ति टुरिष्ट भिसा नै अति सहज बनाइदिएको छ । ५० डलर तिरेपछि ६० दिनको भिसा दिइन्छ र त्यसलाइ अर्को ३० दिन थप्न मिल्छ । फास्ट इन्टरनेट, रात्रिकालीन सेवा, सस्तो आर्षक रेष्टुरेण्ट, कफि शप, कार्यस्थलको ब्यवस्था, सस्तो हवाइ भाडा, रिक्रेशनल एक्टीभिटी आदिको ब्यवस्थाले यस्ता घुमन्तेहरुलाइ लोभ्याएको छ । यहाँको चियांग माइ र फुकेट डिजिटल घुमन्तेहरुका राजधानी मानिएको छ ।

उपरोक्त दुइ उदाहरण मात्र हुन् । उल्लेखित बाहेक कोस्टारिका, ग्रीस, नर्वे, पोर्चुगल, भियतनाम, इन्डोेनेशिया, स्पेन, अर्जेन्टीना आदि ४१ देशहरुले सरल डिजिटल नोम्याड भिसाको ब्यवस्था गरेका छन् ।

घुमन्ते पर्यटन

कुनै पेशा वा ब्यावसायमा काम गर्ने, बर्षमा एक दुइ हप्ता छुट्टी लिने र टन्न पैसा लिएर घुम्न हिँड्ने बिगतको पर्यटकीय संस्कृतिमा डिजीटल घुमन्तेहरुका कारण अहिले काफी परिवर्तन आइसकेको छ । विद्युतिय सन्चारको सुविधा हुँदा रिमोट वोर्करका निम्ति अहिले घुम्न, हिँड्न कुनै छुट्टी लिइरहनु पर्दैन । कफि शपमा, पार्कमा, प्लेनमा, वेटिंग लविमा, जहाँ सुकै होस् काम गर्दै हिँड्न संभव भएको छ । एउटै ठूलो भवनमा सयौंको संख्यामा कर्मचारी आउने, घडिको सुइले देखाएको समयमा एक सेकेण्ड चाँडो वा ढिलो नहुने गरि कार्यालय समयको नियममा बाँधिएर चल्ने बिगतको प्रचलन अहिले छैन । खासमा अहिले सिंगो विश्व नै एउटा विशाल कार्यालय बनेको छ । अर्को तर्फ अफिसमा, आफ्नो घरमा परिवारसंग बसेर भन्दा अलग्गै ठाउँ, रमणीय बातावरणमा बसेर काम गर्दा गुणस्तरीय काम गर्न सकिने हुनाले यस्ता रिमोट वोर्करहरु घर जस्तै भरपर्दो र सुरक्षित तर अन्यत्र कतै नयाँ ठाउँ जहाँ आफू स्वतन्त्र भै रमाउन सकियोस्, रमाउने बातावरण होस् भन्ने चाहन्छन् ।

बदलिँदो यस्तो परिवेशले दक्षिण यसियाका मुलुकहरुमा डिजिटल नोम्याडहरुलाइ आकर्षण गर्ने प्रचुर संभावना जन्माएको छ । थाइलैण्ड र इन्डोनेसियाले हाल प्रसस्त घुमन्तेहरु भित्र्याएका छन् । भारतको गोवा अर्को त्यस्तो आकर्षक थलो बनेको छ । नेपालले पनि यो अवसरबाट प्रसस्त फाइदा लिन सक्छ । यहाँ आउने हवाइ भाडा थोरै महँगो छ, बजार पनि दक्षिण यसिया अरु देशको तुलनामा धेरै सस्तो नभए पनि महँगो छैन । सुरक्षा ब्यवस्था पनि नराम्रो छैन । प्राकृतिक सन्दरताको हिसाबले अब्बल छँदैछ । नेपालको काठमाडौं, भक्तपुर, पोखरा, सौराहा जस्ता ठाउँमा डिजिटल नोम्याड लोभ्याउने विशेष तैयारीहरु गर्न सके र राज्यले पनि नीतिगत सहजता गरिदिने हो भने पर्यटनको अर्को आयाम यहाँ फस्टाउने छ ।

अन्तमा,

नेपालको बिद्यमान श्रम ऐनले रिमोट वोर्करलाई चिन्दैन अर्थात ऐनले नेपालमा आफ्नै घरमा बसेर विदेशको कुनै रोजगारदाता कम्पनीको काम गर्ने रिमोट वोर्करलाई समेटेको छैन । बिदेशमा बसेर बिदेशी कम्पनीका काम गर्ने कैयन नेपाली रिमोट वोर्करहरु नेपालमा आफ्नै घर परिवारमा आएर त्यो काम गर्छु भन्दा नेपालमा रिमोट वर्कर संबन्धी नीति नभएकोले मिल्दैन भनेर यहाँ आउन पाएका छैनन् । यो अवस्था रहुन्जेल अरु देशका रिमोट वोर्कर यहाँ आउने, झमेलामा पर्ने कुरै भएन ।

उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझएको प्रतिवेदनमा पनि डिजिटल नोम्याड सम्बन्धी सहज नीति बनाउनु पर्ने सुझाव दिइएको छ । यो सुखद समाचार हो । हालको लागि सरकारको तर्फबाट डिजीटल नोम्याड भिसाको ब्यवस्था, उनीहरुको पारिश्रमिक विश्वको जुन कनै बैंकमा भए पनि नेपालको बैैंक मार्फत लिन सकिने सुविधाका साथै करमा विशेष छुट आदि ब्यवस्था गर्नु जरुरी छ । साथै पर्यटन क्षेत्रका ब्यावसायीहरुले पनि त्यस्ता नोम्याडहरु आउने, काम गर्ने र रमाउने बातावरण बनाइदिनु पर्छ । यति गर्न सकियो भने केही बर्षमै समृद्ध नेपाल डिजिटल नोम्याड पर्यटनको हब बन्नेछ भनि बिश्वस्त हुन सकिन्छ ।

लेखक पाण्डे बुढानिलकण्ठ पर्यटन बोर्डको अध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०९:५५