प्राइमटाइम्स टेलिभिजनबाट मृत्युपछि तलब पाए पत्रकार श्यामसुन्दर पुडासैनीले
२१ फागुन, काठमाडौँ । गत पुस १९ गते उपचारको क्रममा निधन हुनुभएको स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको प्राइमटाइम्स टेलिभिजनबाट मृत्युको दुई महिनापछि तलब प्राप्त भएको छ । श्यामसुन्दरका दाजु महेन्द्र पुडासैनीले टेलिभिजनका तर्फबाट पाँच लाख रूपैयाँ नगद र १४ दिनभित्र साटिने गरी चार चार लाख रूपैयाँको चेक गरी कुल १३ लाख रूपैयाँ भुक्तानी पाउनुभएको हो ।
दैनिकीसँग कुरा गर्दै स्वर्गीय श्यामका दाजु महेन्द्र पुडासैनीले भन्नुभयो, ‘पाँच लाख रूपैयाँ खातामा जम्मा भएको र एक सातामा साटिने गरी चार लाख रूपैयाँ र अर्को एक साताभित्र साटिने गरी अर्को चार लाख रूपैयाँको चेक प्राप्त भएको र आफू टेलिभिजनबाट निस्किएर घर हिँडेको बताउनुभयो ।’
श्रम अदालतको आदेश अनुसार पुडासैनीले २२ लाख रूपैयाँ पारिश्रमिक भुक्तानी पाउनुपर्ने भए पनि १३ लाख रूपैयाँमा सहमति जुटेको छ । स्वर्गीय पुडासैनी र टेलिभिजनका सञ्चालक समेत रहनुभएको पत्रकार ऋष धमलासँगको टेलिफोन संवादमा १५ लाख रूपैयाँ दिनेलिने सहमति भएको पाइएको छ । यद्यपी श्यमसुन्दरका दाजु महेन्द्रले ऋषिको बिनम्र अनुरोध स्वीकार गर्दै १३ लाख रूपैयाँ भुक्तानीमा सहमति गर्नुभएको द्धिपक्षीय छलफलमा साक्षी बस्नुभएको पत्रकार समिर बलामीले जानकारी दिनुभयो ।

यसअघि यही फागुन १९ गते सोमबार पत्रकार माधवप्रसाद तिवारीले सामाजिक सञ्जल फेसबुक मार्फत पारिश्रमिक भुक्तानीका लागि १५ दिनको अल्टिमेटम दिँदै मध्यस्तताका लागि नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपाललाई अनुरोध गर्नुभएको थियो । तिवारीको अभियानलाई साथ दिँदै एक हजार भन्दा बढी पत्रकारले सामाजिक सञ्जाल मार्फत टेलिभिजन व्यवस्थापनको खबरदारी गर्नुभएको थियो । परिणाम स्वरूप बुधबार पारिश्रमिक भुक्तानीमा सहमति भएको छ ।
आर्थिक समस्यामा पर्नुभएको पत्रकार पुडासैनीको पुस १९ गते ३३ वर्षको अल्पायुमा निधन भएको थियो । नेपाल प्रहरी अस्पतालमा पछिल्लो दुई सातादेखि उपचार गराउँदै आउनुभएको पुडासैनीले मुटु रोगको औषधि समेत सेवन गरिरहनुभएको थियो । चिकित्सकले अस्पताल नै भर्ना हुन सुझाव दिएको भए पनि उपचारमा आर्थिक समस्या भएपछि पुडासैनी दिनहुँ पत्रकारितामै रहँदा उहाँको १९ गते राति निधन भएको थियो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार १८:२३