३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

नुवाकोटको लिखुमा वाल निर्माणमा पनि भ्रष्टाचार

१९ फागुन, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा हुने विकास निर्माणका काममा चरम लापरबाही हुने गरेको तथ्य दैनिकीले प्राप्त गरेको छ । लिखु गाउँपालिकाको वडा नम्बर ३ को पट्टाबारीको भीरमा निर्माण भैएको एउटा वाल निर्माणमा चरम लपारवाही गरिएको पाइएको छ ।

गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा नम्बर ३ का अध्यक्ष राम पुलामीको इच्छामा ठेक्का प्राप्त गरेका निरन्जना निर्माण सेवाका विनोद पाठकले गाउँपालिको आँखामा छारो हाल्नेगरी काम गरेको देखेपछि उपाध्यक्ष सुभद्रा उप्रेती अधिकारीले नै यो विषय बाहिर ल्याएर खबरदारी गर्नुभएको पनि दैनिकीले जानकारी प्राप्त गरेको छ ।

दैनिकीले अनुगमनको जिम्मेवारी समेत सम्हाल्नुभएको उपाध्यक्ष अधिकारीसँग वाल निर्माणमा भएको भ्रष्टाचारका बारेमा प्रश्न गर्दा वाल निर्माणमा गलत काम भएको देखेपछि आफूले तस्बिर कैद गरेर इन्जिनियर देखि सरोकारवालाहरूलाई गुहार मागेको जानकारी दिनुभयो । उपाध्यक्ष अधिकारीले आफ्नै अनुरोधमा प्राविधिकहरूले निगरानी पनि गरिरहेको बताउनुभयो । उहाँले अझै काम सम्पन्न नभएको र हरेक दिन प्राविधिकहरूले निगरानी गरिरहेको र बिहान र बेलुकाको समयमा आफूले पनि निगरानी गरिरहेको दाबी समेत गर्नुभयो ।

यस्तै लिखु गाउँपालिकाका इन्जिनियर रामेश्वर नेपालले ५० लाख रूपैयाँको प्लमवालको काम भएको र बाँकी कुरा मिलिसकेको बताउनुभयो । उहाँले दैनिकीसँग कुरा गर्दै भन्नुभयो, ‘वाल राम्रै छ । बाहिर आएको जस्तै मात्र पनि हैन ।’ दैनिकीले बिल परित गर्नका लागि सबै मिलाइसक्नु भएछ हैन त भनेर प्रश्न गर्दा उहाँले काम त ठीकै गरेको रहेछ भन्दै पन्छिने कुरा गर्नुभयो ।

यो विषय सार्वजनिक रूपमा लिखु गाउँपालिकाकै नेपाली कांग्रेसका नेता एवं वडा नम्बर ६ का पूर्व अध्यक्ष हरिशरण लामिछानेले फेसबुक मार्फत सार्वजनिक गरेपछि चर्चामा आएको थियो ।  लामिछानेले फेसुबुकमा एउटा तस्बिरसँगै लेख्नुभएको छ, ‘लिखु ३ पट्टाबारीमा निरन्जना कन्स्ट्रक्सन को सिमेन्टबाहेकको प्लम वाल ।’

स्थानीयले भने ५० लाखको ठेक्कामा १० लाख पनि खर्च नभएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने बताएका छन । एक अधिकारी थरका स्थानीयले दैनिकीसँग कुरा गर्दै भन्नुभयो, ‘यो नेपाली कांग्रेसका नेताहरूको मिलेमतोमा भ्रष्टाचार भएको छ । लिखु खोलाले हाम्रो वस्ती जोखिममा परेका कारण संरक्षणका नाममा बजेट छुट्याएर नेता कार्यकर्ता मिलेर बाँडीचुँडी खानका लागि जे गरेका छन । यस विषयमा गम्भीर अनुसन्धान हुनुपर्छ ।’

दैनिकीले गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठसँग सम्पर्कको प्रयास गरेको भए पनि उहाँको मोबाइल अफ भएका कारण कुनै संवाद हुन सकेन । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र ठेक्का लिने ठेकेदार सबै नेपाली कांग्रेसका नेता हुन । प्राविधिक लगायतका कर्मचारीहरू समेत नेपाली कांग्रेस निकटकै रहेका कारण वालको बिल पास गराउने तयारी भैरहेको छ । काम वडा मार्फत भएको भए पनि यस कामको भुक्तानी भने गाउँपालिकाले गर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार १४:१०