१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एमाले निकट कर्मचारीका प्रतिनिधिको अधिकार बालुवाटारमा बुझाउने तयारी

२ फागुन, काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनमा प्रतिनिधिको अधिकार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुझाउने तयारी भएको छ ।

सहमतिमा नेतृत्वको चयनका नाममा दोस्रो तहका नेताहरूले कार्यसमिति घोषणा गरेर टीका लगाइदिने परिस्थिति नबनेपछि संगठनका शीर्ष नेताले प्रतिनिधिको अधिकार बालुवाटारमा बुझाएर शनिबार बिहान अनुमोदित कार्यसमितिको सूची सार्वजनिक गर्ने तयारी गरेका हुन ।

एमालेको २३ वटा जनवर्गीय संगठन मध्येको पेशागत महासंघ अन्तर्गतको घटक संगठनको महाधिवेशन माघ ३० गते नै सुरू भएको थियो । प्रतिनिधिहरूले अधिकारको माग गरेपछि एक दिन लम्ब्याएर निर्वाचनको कार्यक्रम सार्वजनिक गरे पनि कार्यक्रम भने अघि बढ्न सकेन ।

शुकबार राति निर्वाचनको कार्यक्रम दोस्रो पटक स्थगित गरिएको घोषणा भएपछि प्रतिनिधिहरूले बबरमहलको कार्की बैंकेटमा नेतृत्व र प्रवृतिकोबिरूद्धमा केहीबेर नाराबाजी समेत गरेका छन ।

बाबुराम थापा नेतृत्वको निर्वाचन आयोगले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकेको थियो । तर यो समाचार तयार पार्दासम्म अर्थात राति १० बजेर ५० मिनेट जाँदासम्म पनि उम्मेदवारी दर्ताको कुनै काम भएको छैन ।

संगठनको अध्यक्षमा भवानी दाहाल र रेवन्त गौतमको दाबी रहेको छ । वर्तमान अध्यक्ष लेखनाथ कोइरालाले दाहाललाई अघि सार्नुभएको छ । पूर्व अध्यक्षहरूले भने गौतमको नाम अघि सारेका छन । निर्वाचन भएको खण्डमा संगठनमा प्रष्टै दुईवटा प्यानल बन्ने देखिको छ ।

निर्वाचन कार्यक्रम अघि बढाउन अबरोध गरिरहेका नेताहरू भने अहिले मध्यरातमा ओली भेट्न बालुवटार पुगेका छन । उनीहरूले ओलीलाई प्रतिनिधिको अधिकार बुझाउने जोखिम रहेको भन्दै प्रतिनिधिहरू चिन्तित बनेका छन । महाधिवेशनमा सहभागी ७ सय बढी प्रतिनिधिहरु नेतृत्व चयनका लागि भेला भए पनि अधिकारको उपयोग गर्न पाउने सम्भावना कम हुँदै गएको छ ।

 

प्रकाशित मिति : February 14, 2025 at 10:56 pm