८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

१५ माघ, कटारी । यहाँको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।

उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । “घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पठाएका छौँ”, उनले बताए ।

प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरुसँग मदिरा सेवन गरी घले छुटेका थिए । स्थानीयले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ । स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरुले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १६:४१