४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

शैक्षिक सुधारको ३५ बुँदे मागसहित त्रिवि स्ववियु सचिव भट्ट नाै दिनदेखि धर्नामा

४ पुस, काठमाडौँ । शैक्षिक सुधारको ३५ बुँदे माग राखेर त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट नौ दिनदेखि धर्नामा हुनुहुन्छ । कुनै पनि पदीय नियुक्ति नभइ शिक्षा सुधारका लागि आश्यक नीति नै आफ्नो माग गरेको भट्टले बताउनुभएको छ । भट्टले धर्ना मार्फत अघि सार्नुभएको मागहरू यस प्रकार रहेको  छ।

त्रि.वि. लगायतका क्षेत्रको शिक्षा सुधारमा अबको हाम्रो बाटोः त्रिवि सुधारका लागि निम्न मागहरुको महसुस गरी बुँदागत रुपमा प्रस्तुत गरेको छु । सो मागहरुको उठान, छलफल र कार्यान्वयनका लागि सबै तहमा सशक्त दबाब र आन्दोलनको थालनी हुनेछ । हरेक दिन हाम्रा मागको कार्यान्वयनबारे जवाफ र निर्णय खोजिनेछ । त्रि.वि. सुधार हाम्रै पालामा सम्भव छ । कुनै पनि पदीय नियुक्ति हैन शिक्षा सुधारका लागि आश्यक नीति नै हाम्रो माग हो । अब रोकिदैनौं ।

१. अनुसन्धान र नीति तर्जुमा गर्ने उद्देश्य राखेर त्रिवि मा स्थापना भएका अनुसन्धान केन्द्रहरु (CNAS, CERID, CEDA, RECAST) लाई विद्यार्थीसंग जोड्न तहाँ कार्यरत प्राध्यापकहरुले अनिवार्य रुपमा आफू सम्बन्ध कुनै न कुनै विभागमा अध्यापन गराउनुपर्ने व्यवस्था गर । यसका साथै नेपाल सरकारका लागि समय समयमा आवश्यक नीति तर्जुमा गर्न र व्यवसायिक परामर्श सेवा दिन बिशिष्ट र विज्ञ प्राध्यापक, मेधावी विद्यार्थी र कुशल कर्मचारीको सहभागीता रहने गरी अध्ययन केन्द्रहरुको समन्वयमा त्रि.वि. नीति अध्ययन केन्द्र स्थापना गरिनुपर्ने ।

२. त्रिवि मा कार्यरत प्राध्यापक र कर्मचारीले विश्वविद्यालयलाई दिएको योगदान (शैक्षिक प्राज्ञिक र प्रशासनिक) को विवरण स्वमूल्याङ्कन मार्फत प्रत्येक १/१ बर्षमा उपलब्ध गराउने र सोको व्यक्ति डिजिटल प्रोफाइल निर्माण गरी रेकर्ड राख्ने व्यवस्था गरिनुपर्ने ।

३. आङ्गिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पसमा छात्रवृत्तिमा समावेशी र पारदर्शी रूपमा कार्यन्वयन नभएकोले यसलाई कार्यान्वयन गराउन शैक्षिक बर्ष अगावै बार्षिक प्रणाली र सेमेस्टर प्रणालीमा भर्ना भएका विद्यार्थी सङ्ख्याको कम्तिमा ४० प्रतिशत हुने गरी छात्रवृत्तिको सम्पूर्ण विवरण सार्वजनिक गर्ने नीति तर्जुमा गरिनुपर्ने ।

४. अन्तर क्याम्पस वा विभागीय सिकाइ/अध्ययन र अध्यापनको पद्धति विकास गरी शैक्षिक, प्राज्ञिक र अनुसन्धानमा जोड दिन शिक्षक/विद्यार्थी आदानप्रदान गर्न आवश्यक नीति निर्माण गर्ने, यसरी गरिएको विद्यार्थी आदानप्रदानमा विद्यार्थीले अध्ययन गरेको विषयमा अन्तर विभागीय क्रेडिट ट्रान्सफर गर्न मिल्ने गरी पाठ्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनुपर्ने ।

५. त्रिवि को प्रयोगशालामा काम गर्ने प्राध्यापक, विद्यार्थी र कर्मचारीहरुको दुर्घटना उपचार खर्च र बिमाको व्यवस्था गरिने नीति निर्माण गरी कार्यान्वयन गरिनुपर्ने ।

६. हाल पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको विदेशी विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्र र उपाधिको मान्यता र समकक्षताका लागि छुट्टै निकाय स्थापना गरिनुपर्ने । त्रि.वि का सबै केन्द्रिय विभागमा बिषय समित रहेको र पाठ्यक्रम विकास केन्द्रको औचित्य नरहेको देखिएकोले यसलाई खारेज गरिनुपर्ने ।

७. विदेशी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको क्रेडिट ट्रान्सफर गर्ने नीति समावेश गरिनुपर्ने ।

८. परीक्षा नियन्त्रण कार्यालयले प्रदान गर्दै आएको ट्रान्षकृप्ट तयार गर्न सम्बन्धित डिन कार्यालयलाई अधिकार सहित सम्बन्धित संकाय तथा संस्थानले दिक्षान्त कार्यक्रम आफै सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने ।

९. नेपालमा स्थापना भएका विश्वविद्यालयको हकमा समकक्षता आवश्यक पर्ने विद्यमान नीति पुनर्विचार गरी विदेशी विश्वविद्यालयको हकमा मात्र यो व्यवस्था लागू गरिनुपर्ने ।

१०. विदेशी विश्वविद्यालयको सम्बन्धनको क्रममा जथाभावी दिने सम्बन्धनले शिक्षा क्षेत्रमा व्यापार सिर्जना गरेको हुनाले हालको व्यवस्था सच्याएर कम्तिमा १००० हजार सम्म Ranking मा रहेका विश्वविद्यालयहरुको मात्र सम्बन्धन दिने व्यवस्था कायम गरिनुपर्ने ।

११. त्रिवि सेवा आयोगले त्रिवि ऐन, नियम विपरितका सबै विज्ञापन खारेज गरी खुल्ला प्रतिशपर्धा मार्फत नयाँ विज्ञापन जारी गर्नुपर्ने ।

१२. प्रत्येक सेमेस्टर/बर्षमा Make up Exam को व्यवस्था गरिनुपर्ने ।

१३. त्रि.वि मा कार्यरत आंशिक शिक्षकलाई स्तवः करार गर्ने प्रक्रिया खारेज गर । श्रेणी बिहिन कर्मचारीलाई स्वतः स्थायी गर्ने अदालतको आदेश विपरितको अवधारणा सदाका लागि बन्द गर । खुल्ला प्रतिशपर्धाबाट मात्रै सेवा प्रवेशको व्यवस्था गरिनुपर्ने ।

१४. त्रि.वि सेवा आयोग मार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन खुल्ला प्रतिशपर्धा मार्फत हुने गरी तत्काल सूचना प्रकाशन गर । त्रि.वि. सेवा तथा त्रि.वि. का नियम, विनियम र कार्यविधि विपरितका पुराना विज्ञापन खारेज गरी खुल्ला प्रतिशपर्धा मार्फत पदपूर्ति गरिनुपर्ने । त्रि.वि. सेवाको परीक्षा प्रत्येक बर्षमा अनिवार्य रुपमा सञ्चालन गर्नेगरी आवश्यक प्रबन्धको व्यवस्था गरिनुपर्ने ।

१५. त्रि.वि. सेवा प्रवेशका लागि कम्तिमा पिएचडी हुनुपर्ने न्यूनतम मापदण्डको व्यवस्था गर । सबै प्राध्यापकका पि.एच.डी. को पारदर्शी रुपमा छानविन गरिनुपर्ने ।

१६. विभिन्न संकाय तथा संस्थानका डिन, कार्यकारी निर्देशक, विभागीय/क्याम्पस प्रमुख पदको सबै नियुक्ति प्रक्रिया सार्वजनिक गर, पारदर्शिता कायम गरिनुपर्ने ।

१७. त्रि.वि मा रिक्त हुन आउने डिन, कार्यकारी निर्देशक, विभागीय प्रमुख/क्याम्पस प्रमुख लगायत पदहरुको नियुक्ति पारदर्शी ढङ्गले योग्यता, क्षमता र प्रतिशपर्धाका आधारमा गरिनुपर्ने ।

१८. त्रि. वि. को विद्यमान अवस्था (शैक्षिक, प्राज्ञिक र प्रशासनिक) सुधार र व्यवस्थित नभएसम्म आंगिक र सामुदायिक क्याम्पस बाहेक अरुमा कार्यक्रम थप गर्न नहुने ।

१९. विद्यार्थीहरुको उत्तर पुस्तिकामा चरम लापरबाही गर्ने यस अघि नै छानबिन समितिको कारबाहीका लागि सिफारिसमा परेका परीक्षा नियन्त्रक तथा कुनै पनि समयमा परीक्षाको मर्यादा र संवेदनशीलता प्रति उत्तरदायि नहुने र गलत गर्ने जोसुकैलाई यथाशिघ्र कारबाही गर्ने व्यवस्थाको थालनी गरिनुपर्ने, परीक्षा नियन्त्रण कार्यालय र क्षेपनिका लाई प्रविधिमैत्री बनाई अनलाइन प्रणाली सूचारु गरिनुपर्ने, पनिका को सेवा प्रवाहमा हुने अनावश्यक प्रक्रिया परिमार्जन गरी अनलाइन मार्फत भुक्तानि गर्न सकिने व्यवस्था १ हप्ता भित्र तत्काल लागू गरिनुपर्ने ।

२०. पाठ्यक्रम विकास केन्द्रमा हुने चरम लापरबाही, ढिलासुस्ती र बेतिथीको अन्त्य गरी ४८ घण्टा भित्र सेवा प्रवाह गर, अनावश्यक र झन्झटिलो प्रक्रिया परिमार्जन गरिनुपर्ने ।

२१. स्नातकोत्तर तहमा शोध अनुदान (Master Research Support, M. Phil Research Support) को संख्या र रकम बढाउन, विश्वविद्यालयहरुमा विद्यावारिधि (PHD) गर्दै गरेका विद्यार्थीहरुलाई दिइने PHD Fellowship को संख्या र मासिक Stipend बढाउन UGC र अनुसन्धान निर्देशनालयलाई प्रभावकारी पहलकदमी गरिनुपर्ने । रोकिएका अनुदान परिमार्जन गरी पुन सुचारु गरिनुपर्ने । मासिक Stipend मा रकम बृद्धि गरिनुपर्ने ।

२२. उत्कृष्टता, क्षमता र अनुसन्धान प्रस्तावलाई आधार मानी स्नातकोत्तर तह भर्खरै सकेका सबै संकायका विद्यार्थीहरुलाई Assistant Junior Research Fellowship र मासिक Stipend को व्यवस्था गरिनुपर्ने ।

२३. अदालतको आदेश बमोजिम दिइने ट्रान्स्कृप्टमा लेखिने अदालतको आदेश बमोजिम भन्ने व्यवस्था खारेज गरिनुपर्ने ।

२४. सुविधा सम्पन्न ५०० देखि १००० जना अट्ने सेमिनार हल निर्माणको प्रक्रिया तत्काल थालनी गरिनुपर्ने ।

२५. परीक्षाको उत्तरपुस्तिका घर लगेर परीक्षण गर्ने व्यवस्था अन्त्य गरी विश्वविद्यालयमै बसेर उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्थाको थालनी गरिनुपर्ने ।

२६. त्रि. वि. कीर्तिपुरमा रहेको छात्राबासको सिट सङ्ख्या बढाएर महिला/पुरुष ८००/८०० विद्यार्थी अट्ने सिट क्षमताको छात्राबास निर्माणको प्रकिया थालनी गरिनुपर्ने ।

२७. एकै प्रकारका बिषय अध्यापन गराइने दुरीका हिसाबले नजिक रहेका क्याम्पसका कार्यक्रमलाई मर्ज गरी विद्यार्थी सङ्ख्याको आधारमा प्राध्यापक र कर्मचारीको दरबन्दी पुनरावलोकन गरिनुपर्ने । अन्तर सम्बन्ध रहेका सबै विषयलाई स्कुल मोडेलको अवधारणामा लैजाने व्यवस्थाको थालनी तत्काल गर । (उदाहरणः School of IT अन्तर्गत CSIT, BIT, BCA, BIM का लागि एक क्याम्पस जस्तैः अमृत क्याम्पस)

२८. त्रि.वि. मा एम.एस.सी मेडिकल माईक्रोबायोलोजी अध्ययन गरेका विद्यार्थीहरुलाई मेडिकल काउन्सिलमा दर्ता भइ सदस्यता प्राप्त गर्न सकिने व्यवस्था गरिनुपर्ने । ।

२९. विश्वविद्यालयको जग्गामा रहेका सबै व्यवसायिक संस्था तथा संरचनाहरु हटाउने, बक्यौता लिन बाँकी भएका संस्थाहरुसंग रकम लिने, म्याद नागेका सबै संरचना हटाउने र सबै सम्पत्तिको छानबिन गरी संरक्षण गरिनुपर्ने ।

३०. अध्ययन बिदामा रहेका, अध्ययन समयवधि समाप्त भएपछि पनि विश्वविद्यालयमा हालसम्म पनि हाजिर हुन नआएका प्राध्यापकहरुको तथ्याङ्क पत्ता लगाइ छानबिन गरी आवश्यक कारबाही गरिनुपर्ने ।

३१. सबै संकाय र संस्थानका विद्यार्थीहरुलाई पढ्दै कमाउदैको अवधारणालाई बनाउन त्रिवि र हरेक क्याम्पस परिसरमा सञ्चालन भएका क्यान्टिनमा अध्ययन अवधिभर ईच्छुक विद्यार्थीले नै सञ्चालन गर्ने गरी उत्कृट Proposal का आधारमा विद्यार्थी विद्यार्थी बीचबाट प्रतिशपर्धा गराएर सञ्चालन गरिने व्यवस्थाको थालनी गरिनुपर्ने ।

३२. Gold Medalist विद्यार्थीलाई Teaching Assistant को रुपमा राख्ने व्यवस्था गरिनुपर्ने । Economics र Management का Gold Medalist विद्यार्थीहरुले नेपाल राष्ट्र बैक/बाणिज्य बैकमा सेवा प्रवेशको क्रममा सिधैँ अन्तर्वातामा सामेल हुन पाउने यसअघिको व्यवस्था तत्काल पुन सूचारु गरिनुपर्ने, यसका लागि आवश्यक समन्वय गरी कार्यान्वयन गरिनुपर्ने ।

३३. हाल सञ्चालन भइरहेका केहि संकाय अन्तर्गतका केहि बिषयहरुको दिवाकालिन कक्षाहरुलाई बिहानी सत्रमा सञ्चालन हुने गरी Shift परिवर्तन गरिनुपर्ने ।

३४. विश्वविद्यालयका हाल सञ्चालन भइरहेका र नयाँ बन्ने सबै शैक्षिक संरचनाहरु अपाङ्गमैत्री बनाउनुपर्ने ।

३५. विश्वविद्यालय परिसर भर रात्रिकालीन समयमा आवतजावतमा सहज गर्न सबै क्षेत्रमा सडक बत्ती जडान गरिनुपर्ने । विश्वविद्यालयले वाताववरण विज्ञान केन्द्रीय विभागको समन्वयमा विश्वविद्यालयमा उत्पादन हुनै सबै प्रकारका फोहोरको वर्गीकरण गरी 3R सिद्धान्त मार्फत व्यवस्थापन प्रक्रिया अगाडि बढाउने र यसलाई आम्दानीसंग जोड्ने ।
धन्यवाद !
………………….
सिद्धान्त भट्टु
स्ववियु सचिव, त्रि.वि., कीर्तिपुर

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १८:४७