दाजुको मुद्दाको प्रतिशोधमा बाह्रविसेका नगरप्रमुख बालकृष्ण बस्नेत अख्तियारमाथि खनिए
२ जेठ, काठमाडौँ । दाजु मोहनबहादुर बस्नेतको बिरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन अर्ब बढीको भ्रष्टाचार मुद्दा दर्ता गरेपछि भाइ बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि प्रतिशोध देखाउनुभएको छ ।

दाजुको विरूद्धमा मुद्दा दर्ता भएको केही घण्टामै उहाँले क्षेत्राधिकार बाहिर गएर आयोगमा कार्यरत एक कर्मचारीलाई कानुन विपरीत काज फिर्ता हुन भन्दै पत्र काट्नुभएको छ । नगर प्रमुख बस्नेतले आयोगमा कार्यरत पाँचौँ तहको कर्मचारी अम्बिका दाहाल ओझालाई तत्काल काज फिर्ता गर्न पत्र पठाउनुभएको हो । बिहीबार मात्रै अख्तियारले प्रमुख बस्नेतका दाजु पूर्वमन्त्री बस्नेतका विरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
कर्मचारी सरुवा, बढुवा वा फिर्ताका लागि पत्र पठाउँदा सम्बन्धित कार्यालयका कर्मचारीमात्र पत्र पठाउन पाउने व्यवस्था छ । तर बस्नेतले भने कर्मचारीकै शैलीमा पत्राचार गर्नुभएको छ ।
प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार ११:०७