१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

चिमखोलामा स्वास्थ्य: पूर्वाधार थपियो, सेवा थपिएन

२६ मङ्सिर, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ । सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन ।

स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा कतिपय महिला घरमै असुरक्षित तवरले नवजात शिशु जन्माउन बाध्य हुने गरका छन्, स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टरका लागि कोठा पनि बनाइएको छ, तर सेवा सञ्चालन भएको छैन, आवश्यक औजार उपकरण र औषधिको व्यवस्थापन गरेर तत्काल बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्छ ।” चिमखोलासँगै रघुगङ्गाको वडा नं १ बेग, ४ दग्नाम, ८ कुइनेमङ्गलेमा रहेका स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा सुरु हुन सकेको छैन । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले चिमखोलामा आवश्यक मापदण्डको पालना गरेर बर्थिङ सेन्टर सञ्चालन गराउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने तालिम प्राप्त जनशक्ति उपलब्ध भएको र गाउँपालिकाले आवश्यक औजार उपकरणहरु खरिद गरेर सेवा सञ्चालन गर्ने जमर्को गरेको बताउनुभयो । बर्थिङ सेन्टरको सेवा प्रवाह हुने स्वास्थ्य चौकीहरुमा चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा उपलब्ध हुने गर्छ ।

स्वास्थ्य चौकीमा पूर्वाधार, औजार उपकरण तथा जनशक्तिको व्यवस्था गरेर निश्चित मापदण्ड पूरा गरे पनि स्वास्थ्य कार्यालयले बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने र गाउँपालिकाले उक्त सेवा सञ्चालन गर्ने जनाएको छ । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुर्गम गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जुटेको बताउनुभयो । उहाँले गाउँपालिकाले छरिएर रहेका दुर्गम गाउँका बस्तीमा स्वास्थ्य चौकीका साथै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर गाउँपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा अहिले आठ स्वास्थ्य चौकी र सात सामुदायिक स्वास्थ्य इकाइबाट सेवा प्रवाह भइरहेको छ । गाउँपालिका–३ कलेजाबाङको पातिहाल्ना र वडा नं ७ चिमखोलाको नामिलामा समेत सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : December 11, 2024 at 12:15 pm