२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुँदै

१९ मङ्सिर, दाङ । उनीहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुर्याउछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुने जमर्को गरिरहेका छन् ।

उनीहरूले बुनेका सामग्रीको स्वदेशमा मात्र होइन, विदेशमा पनि माग छ । घोराहीका केही महिला अहिले धागोसँग खेलेर आकर्षक आम्दानी गरिरहेका छन् । सोप्न होजेरीबाट तालिम लिएर उनीहरूले आम्दानी गर्न थालेका हुन् । पन्ध्र जनाले सोप्न होजेरी उद्योगमा सामग्री बनाएर निर्यात गर्दै आएका छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, भारत उनीहरूका उत्पादनको प्रमुख गन्तव्य हो ।

उद्योग सञ्चालक रचना सुवेदीका अनुसार अष्ट्रेलियामा गुडियाको माग बढी छभने भारतमा धागोबाट बनेका गणेश र लक्ष्मीका प्रतीक जाने गरेका छन्, क्यानडामा स्वीटर, मोजा र बालबालिकाका सामग्रीको बढी माग हुने गरेको छ । अमेरिकामा भने उत्पादित सबै सामग्रीको माग छ ।

धागोले बनाएका सामग्रीको माग धेरै भए पनि एउटा गुडिया तयार पार्न तीन दिन लाग्ने गरेको तथा मासिक रु १५ हजार आम्दानी हुने गरेको सञ्चालक सुवेदीले बताउनुभयो ।

विसं २०६३ देखि उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजेरीसम्बन्धी तालिम पनि दिँदै आएको छ । त्यहाँ सीप सिकेका धेरैले रोजगारी पनि पाएका छन् । घोराही उपमहानगरपालिका–१३ की मीना जिसी र घोराही–१४ कै अनिता डाँगीले यही उद्योगमा काम गरेर मासिक रु १० हजारसम्म आम्दानी गर्दै आएको राससलाई बताउनुभयो ।

यो उद्योगले रुकुम, रोल्पा, सल्ल्यान, प्यूठान, गुल्मीलगायत जिल्लाका १० हजार जनालाई होजेरीसम्बन्धी तालिम दिइसकेको सञ्चालक सुवेदीको कथन छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ११:४७