२५ मंसिर २०८१, मंगलवार | Tue Dec 10 2024

ढोकामा कोच्चिएर यात्रा गर्दा नुवाकोटका दुई जनाको च्यापिएर मृत्यु, एक गम्भीर घाइते

१५ मंसिर, काठमाडौँ । बसको ढोकामा कोच्चिएर यात्रा गर्दा शनिबार नुवाकोटका दुई जनाको ज्यान गएको छ । रूट नम्बर २३ मा चल्ने सार्वजनिक यातायातको चरम लापरबाहीले हरेक महिना यात्रुहरूले विभिन्न बहानामा मृत्युवरण गरिरहेका छन । तीव्र गतिका कारण निरन्तर दुर्घटना निम्त्याउँदै आएका बसहरूले शनिबार भने नौँलो प्रकारको दुर्घटना गराएका छन ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । प्रहरीका अनुसार दुर्घटनामा बसको ढोकामा च्यापिएर नुवाकोट ककनी गाउँपालिका(५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र ताँदी गाउँपालिका(१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका(८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको छ ।

दुर्घटनामा परेको बस तारकेश्वर नगरपालिकाको वडा नम्बर ८ मा रहेको शान्ति टोलको गेटमा बा ३ क १६६६ नम्बरको रोकिराखेको मिनिट्रकमा ठक्कर दिँदै अघि बढेको थियो । सोहीक्रममा ढोकामा झुण्डिएर यात्रा गरिरहेका गोरखा स्थायी घर भएका सहसचालक र मृतकद्धय मिनीट्रकमा ठोक्किएर सडकमा झरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार प्रायः खोचाखोच यात्रा गर्नुपर्ने बसमा शनिबार बिहान पनि यात्रुहरू भित्र कोचिन ठाउँ नपुगेपछि तीन जनाले बसको ढोकाबाट बाहिर टाउको निकालेर यात्रा गरेका थिए । बस तीब्र गतिमा रहेको र नजिकैको खाल्डो छल्न खोज्दा अर्को गाडीमा गएर ठोक्किदै अघि बढेको थियो । सोही क्रममा बसका सहचालक र यात्रु च्यापिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार सहचालक बाहेक दुई जनाको घटनास्थलमै मृत्यु भएको भए पनि दुर्घटनास्थलमा भीड हुने र अराजकता निम्तिने भयले प्रहरीले घाइते भन्दै त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले लामा र ओझाको मृत्यु भएको घोषणा गरेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि स्थानीय प्रत्यक्षदर्शीको सवारीमा ट्राम सेन्टर पुर्याइएका सहसचालको उपचार जारी रहेको छ । बस चालक भने फरार रहेका छन । प्रहरी र प्रशासनमा मोटो रकम बुझाएर बसको समितिले प्रभावित गर्दा बसका चालकहरू सडकमा निकै अराजक ढंगले प्रस्तुत हुने गरेका छन ।

उनीहरूले हरेक दिन जोखिमयुक्त ढंगले तीब्र गतिमा सवारी हाक्ने गर्छन तर ट्राफिक प्रहरीहरू नदेखेझै गरेर बस्ने गरेका छन । २३ नम्बर रूटमा गुड्ने सवारीले वार्षिक दर्जनौँ नागरिकको ज्यान लिँदै आएको छ । यद्यपी यसको रोकथामका लागि कसैले चासो दिएको पाइदैन् । २३ नम्बर रूटमा गुड्ने सवारीहरू मध्ये शिवशक्ति नाम गरेका बस सबैभन्दा तीब्र गतिमा कुद्ने गरेको स्थानीयले बताएका छन ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १७:१९