वर्ग संघर्षको स्थायी सान्दर्भिकता र क्रान्तिकारी परिवर्तनको सम्भावना
-अनिश न्याैपाने
वर्गसंघर्षको अवधारणा मार्क्सवादी सिद्धान्तमा आधारित छ। समाजमा दुई प्रमुख वर्गहरू — शोषकवर्ग (पूँजीपति) र श्रमिकवर्ग (मजदुर) बीचको द्वन्द्व नै वर्गसंघर्ष हो। शोषक वर्गले श्रमिक वर्गको श्रमको शोषण गर्दै सम्पत्तिको अधिक हिस्सा नियन्त्रणमा राख्छ। समाजमा असमानता र अन्यायको उत्पत्ति यही शोषण र असमान वितरणका कारण भएको हो।वर्गसंघर्ष मानव समाजको विकासक्रममा उत्पन्न भएको तर एक निरन्तर प्रक्रिया हो।
जसले स्रोतहरूको असमान वितरण, अधिकारको विभाजन, र श्रम शोषणको प्रतिरोधमा विभिन्न सामाजिक समूहहरू बीचको निरन्तर टकरावलाई जनाउँछ। वर्गसंघर्ष समाजको परिवर्तनको प्रमुख चालक हो।वर्गसंघर्षको बिकास समाजको प्रारम्भिक विकासकालदेखि नै भएको पाइन्छ। जब मानिसहरूले कृषिविकास गरेर सम्पत्तिको उत्पादन गर्न थाल्यो, त्यसबेलादेखि नै स्रोतहरूको नियन्त्रण र उपयोगमा वर्गीय विभाजनको प्रक्रिया सुरु भयो। प्राचीन दासयुगदेखि सामन्ती अनि औद्योगिक युगमा प्रवेश गर्दै, वर्गसंघर्षको स्वरूप फरक-फरक भए पनि यसको सार भने उस्तै रहिआएको पाइन्छ ।
औद्योगिक क्रान्तिपछि पुँजीपति वर्गले उत्पादनका साधनहरूको स्वामित्व ग्रहण गरेर आफ्नो सम्पत्तिको विस्तार गरिरहेको थियो भने श्रमिक वर्ग आफ्नो श्रम बेचेर जीविका चलाउन बाध्य थियो। यस स्थितिमा कार्ल मार्क्सले श्रमिक वर्गको क्रान्तिकारी चेतनाको विकासलाई अत्यावश्यक मानेका थिए, ताकि उत्पादनका साधनहरू सबैको स्वामित्वमा आएर समानताको समाज निर्माण गर्न सकियोस्। समाजमा विद्यमान असमानता र शोषणलाई समाप्त पार्न संघर्ष गर्नुपर्ने आवश्यकता सधैं रहन्छ। इतिहासका विभिन्न कालखण्डमा भएका क्रान्तिहरू, जस्तै फ्रेन्च क्रान्ति, रुसी बोल्सेभिक क्रान्ति, र अन्य सामाजिक आन्दोलनहरूले वर्गसंघर्षकै परिणामस्वरूप समाजको पुनर्संरचना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । यस कारण, वर्गसंघर्षले हामीलाई मानव समाजको विकासक्रमको एउटा महत्त्वपूर्ण पाटो बुझ्न मद्दत गर्दछ, जहाँ उत्पीडनको अन्त्य , न्यायपूर्ण समाजको निर्माणका लागि निरन्तर संघर्षको अपरिहार्यता र सान्दर्भिकता रहिरहन्छ ।
वर्गसंघर्षको दार्शनिक आधार मुख्यतः माक्र्सवादी विचारधारामा आधारित छ। कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले वर्गसंघर्षको अवधारणालाई समाज विकासको एक महत्त्वपूर्ण हिस्सा र ऐतिहासिक परिवर्तनको प्रेरक शक्ति मान्दै यसको दार्शनिक व्याख्या गरेका छन्। वर्गसंघर्षको दार्शनिक आधारलाई बुझ्नका लागि माक्र्सवादको मूलभूत सिद्धान्त, ऐतिहासिक भौतिकवाद, द्वन्द्वात्मक भौतिकवाद, र उत्पादन सम्बन्धहरूको चर्चा गर्नु आवश्यक छ। यी सिद्धान्तहरूले समाजको संरचना, विकास, र परिवर्तनको मूल कारणको रूपमा वर्गसंघर्षलाई प्रस्तुत गर्छन्।
मार्क्सवाद र वर्गसंघर्ष
मार्क्सवाद एउटा सामाजिक, आर्थिक, र राजनीतिक विचारधारा हो । येस्ले वर्गसंघर्षलाई समाजको विकास र परिवर्तनको प्रमुख इन्जिनका रूपमा हेर्छ। माक्र्सका अनुसार समाज सधैं वर्गीय संरचनामा आधारित हुन्छ, जहाँ एकातिर शोषण गर्ने वर्ग हुन्छ र अर्कोतिर शोषित हुने वर्ग हुन्छ । यहि शोषणको कारणले समाजमा अन्याय, असमानता, र विभाजन उत्पन्न भयो । माक्र्सवादी सिद्धान्तले समाजको विकासको लागि वर्गसंघर्षको अपरिहार्यता देख्दछ।यसले अन्ततः शोषणको अन्त्य र समानतामा आधारित समाजको निर्माण गर्ने कुरामा बिश्वास गर्दछ।
माक्र्सले पूँजीवादी समाजलाई दुई मुख्य वर्गहरूमा विभाजित गरेका छन्: पूँजीपति वर्ग (बुर्जुवा) र श्रमिक वर्ग । पूँजीपति वर्गले उत्पादनका साधनहरूको स्वामित्वमा प्रभुत्व जमाउछ र मुनाफा आर्जनको लागि श्रमिक वर्गको श्रमको शोषण गर्छ। यो वर्गीय अन्तर र विरोधाभास नै वर्गसंघर्षको उत्पत्ति हो। माक्र्सका अनुसार, वर्गसंघर्षको अन्तिम उद्देश्य श्रमिक वर्गको शासन स्थापना गर्नु र उत्पादनका साधनहरूको सामूहिक स्वामित्वमा आधारित समाजको स्थापना गर्नु हो।वर्गसंघर्षको दार्शनिक आधारमा माक्र्सको ऐतिहासिक भौतिकवादले (Historical Materialism) महत्त्वपूर्ण भूमिका निभाएको छ। माक्र्सले यो सिद्धान्त मार्फत समाजको विकासलाई भौतिक उत्पादनका साधनहरूको विकास र त्यसको स्वामित्वका आधारमा विश्लेषण गरेका छन्। ऐतिहासिक भौतिकवादका अनुसार समाजको प्रत्येक विकासक्रम आर्थिक आधारमा निर्भर गर्दछ।समाजको आर्थिक संरचना, जसमा उत्पादनका साधनहरूको स्वामित्व र उत्पादन सम्बन्धहरू समावेश हुन्छन्। माक्र्सका अनुसार, समाजका मुख्य वर्गहरूबीचको टकराव र द्वन्द्वले नयाँ सामाजिक व्यवस्था निर्माण गर्न मद्दत गर्दछ। उदाहरणका लागि, सामन्तवादको अन्त्य र पूँजीवादको उदय वर्गसंघर्षकै परिणामस्वरूप भएको थियो।
द्वन्द्वात्मक भौतिकवाद
माक्र्स र एङ्गेल्सले हेगेलको द्वन्द्वात्मक सिद्धान्तलाई पुनर्व्याख्या गर्दै द्वन्द्वात्मक भौतिकवाद (Dialectical Materialism) को सिद्धान्त प्रतिपादन गरे। हेगेलले द्वन्द्वात्मक सिद्धान्तलाई विचार र चेतनाको दृष्टिकोणबाट हेरेका थिए भने माक्र्स र एङ्गेल्सले यसलाई भौतिक जीवन र समाजको वास्तविक बस्तुस्थितिसंग जोडेर व्याख्या गरे।द्वन्द्वात्मक भौतिकवादका अनुसार समाजमा वर्गहरू बीचको द्वन्द र विरोधाभासलाई बुझेर मात्र समाजको वास्तविक स्थिति र यसको परिवर्तनको दिशा थाहा पाउन सकिन्छ। समाजको विकास प्रक्रियामा यो द्वन्द्वात्मक सिद्धान्त महत्त्वपूर्ण छ, जसले पुरानो सामाजिक सम्बन्धलाई चुनौती दिन्छ र नयाँ समाजको निर्माणको लागि मार्ग खोल्छ। वर्गसंघर्ष नै यो द्वन्द्वात्मक प्रक्रियाको अभिन्न हिस्सा हो, जसले पुरानो शोषणकारी संरचनालाई समाप्त गर्दै नयाँ समानतामूलक संरचनाको निर्माण गर्नेछ।
उत्पादन सम्बन्ध र वर्गसंघर्ष
माक्र्सवादी सिद्धान्तमा उत्पादन सम्बन्ध (Relations of Production) लाई वर्गसंघर्षको मुख्य आधार मानिन्छ। समाजमा उत्पादन सम्बन्धको आधारमा वर्गहरू विभाजित हुन्छन्। एकातिर उत्पादनका साधनहरूको स्वामित्व गर्ने वर्ग र अर्कोतिर आफ्नो श्रम बेचेर जीविकोपार्जन गर्ने वर्ग रहेको हुन्छन् । उत्पादनका साधनमा स्वामित्व भएका वर्गहरूले आफ्नो स्वार्थका लागि उत्पादन प्रक्रियालाई नियन्त्रण गर्छन्, जसले श्रमिक वर्गको शोषण र उनीहरूको परिश्रमको मूल्यको हरण गर्छ। पूँजीवादी उत्पादन सम्बन्धमा पूँजीपति वर्गले श्रमिक वर्गको श्रमशक्तिको उपयोग गरेर थप मुनाफा आर्जन गर्छ। श्रमिकहरूले आफ्नो श्रमको मूल्यको बराबरी पारिश्रमिक पाउँदैनन्, बरु उनीहरूको उत्पादनको एक हिस्सा मुनाफाको रूपमा पूँजीपतिहरूले लिन्छन्। यही शोषणको प्रणालीले वर्गीय अन्तर र असमानतालाई उत्पन्न गर्दछ र वर्गसंघर्षको आवश्यकता पनि उत्पन्न गर्छ।
माक्र्सको अधिशेष मूल्य (Surplus Value) को सिद्धान्तले वर्गसंघर्षको आर्थिक पक्षलाई स्पष्ट पार्छ। अधिशेष मूल्य भनेको श्रमिक वर्गले आफ्नो श्रमद्वारा उत्पादन गर्ने र आफ्नो पारिश्रमिकभन्दा बढी हुने मूल्य हो, जसलाई पूँजीपति वर्गले आफ्नो रूपमा लिन्छ। यस अर्थमा, पूँजीवादी समाजमा श्रमिक वर्गको श्रमशक्ति पूँजीपति वर्गको मुनाफाको मुख्य स्रोत हो। पूँजीपति वर्गको मुनाफा आर्जनको उद्देश्यकै कारण श्रमिक वर्गको शोषणलाई निरन्तरता दिइन्छ। यो आर्थिक शोषण नै वर्गसंघर्षको प्रमुख कारण हो।माक्र्सले यस प्रक्रियालाई “श्रमको अलगाव” भनेका छन्। पूँजीवादी उत्पादन प्रणालीमा श्रमिक वर्ग आफ्नो श्रम र त्यसको परिणामस्वरूप उत्पन्न हुने उत्पादनबाट अलग हुन्छ। उनीहरूले आफ्नो श्रमबाट कुनै सन्तुष्टि प्राप्त गर्दैनन्, बरु उनीहरूको श्रम पूँजीपतिहरूको मुनाफा आर्जनको साधन बनिदिन्छ। यही अलगाव र शोषणको अवस्थाले श्रमिक वर्गलाई आफ्नो स्थितिबारे सचेत बनाउँछ र वर्गसंघर्षको आवश्यकता उत्पन्न गराउँछ।
वर्ग चेतना र वर्ग संघर्ष
वर्गसंघर्षको दार्शनिक आधारमा वर्ग चेतना (Class Consciousness) को महत्त्वपूर्ण भूमिका छ। माक्र्सका अनुसार, समाजमा परिवर्तन ल्याउनका लागि श्रमिक वर्गले आफ्नो स्थितिको बारेमा सचेत हुनुपर्छ र आफूहरूलाई एक वर्गका रूपमा पहिचान गर्नुपर्छ। वर्गचेतना भनेको श्रमिकवर्ग आफ्ना सामूहिक स्वार्थ, शोषणको स्थिति, र परिवर्तनको सम्भावनाको बारेमा सचेत हुनु हो।वर्ग चेतनाले श्रमिक वर्गलाई संगठन निर्माण गर्न, शोषणको विरुद्ध संघर्ष गर्न, र आफ्नो हितको लागि एकजुट हुन प्रेरित गर्छ। पूँजीवादी व्यवस्था श्रमिक वर्गको चेतनालाई कमजोर बनाउन विभिन्न माध्यमहरू प्रयोग गर्छ, जस्तै शिक्षा, मिडिया, र संस्कृति, जसले उनीहरूलाई आफ्नो वास्तविक अवस्थाबारे अनभिज्ञ राख्न खोज्छ। तर, जब श्रमिक वर्ग आफ्नो स्थितिको बारेमा सचेत हुन्छ, तब उनीहरू क्रान्तिको लागि तयार हुन्छन्, जसले समाजमा क्रान्तिकारी परिवर्तन ल्याउन वर्गसंघर्ष कारक बनिदिन्छ।
नवउदारवाद र चुनौती
नवउदारवादले विश्वव्यापी रूपमा आर्थिक नीतिहरूमा ठूलो प्रभाव पारेको छ। निजीकरण, बजारमुखीकरण, र सरकारी सेवाहरूको कटौतीले गरीब र श्रमिक वर्गलाई अझ कमजोर बनाएको छ। नवउदारवादी नीतिहरूको विरुद्धमा गरिएका संघर्षहरू वर्गसंघर्षकै नयाँ रूप हुन्। यी संघर्षहरूले नवउदारवादका कारण उत्पन्न आर्थिक असमानता र शोषणलाई चुनौती दिँदैछन्।सन्सार भर नवउदारवादको विरुद्ध गरिएका आन्दोलनहरूले जनताको शक्ति पुनःस्थापना गर्न र सामाजिक सेवाहरूलाई सरकारी नियन्त्रणमा ल्याउन माग गरिरहेका छन्। गरिब र बिकास उन्मुख देशहरुमा आन्दोलनको मुख्य एजेन्डा सरकारी सेवा बढाउनु र सरकारलाई जनतान्त्रिक बनाउन हुने गर्दछ्न। यस प्रकारको वर्गसंघर्षले समाजमा क्रान्तिकारी परिवर्तनको सम्भावनालाई बलियो बनाउँछ। नवउदारवादको अन्त्य गर्दै समाजवादी सिद्धान्तमा आधारित समानतामूलक समाजको स्थापना गर्ने उद्देश्यले गरिएका संघर्षहरू वर्गसंघर्ष र क्रान्तिकारी परिवर्तनको प्रतीक हुन्।
क्रान्तिकारी सम्भावनाहरू
हालको विश्वव्यवस्था, विशेष गरी पूँजीवादको चरम बिकास भइरहेकै सन्दर्भमा वर्गसंघर्षको अन्त्य हुने सम्भावनाछैन । बरु, समाजमा असमानता बढेसँगै वर्गसंघर्षका नयाँ रूपहरू देखापर्ने सम्भावना छ। तर क्रान्तिकारी सम्भावनाहरू पनि त्यत्तिकै प्रबल छन्। सामाजिक न्याय, समानता, र श्रमिक अधिकारका आन्दोलनहरूले भविष्यमा वर्गसंघर्षलाई नयाँ उचाइमा पुर्याउने छन।
पहिलो, जन समुदायको सामूहिक चेतनाको विकास अनिवार्य छ। वर्तमान समयमा प्रविधिको विकासले समाजमा जनचेतना बढाउन ठूलो भूमिका खेलिरहेको छ। सामाजिक सञ्जाल, डिजिटल मिडिया, र स्वतन्त्र सञ्चारका माध्यमहरूले गरिबी, असमानता, र शोषणबारे जनतालाई सूचित गरिरहेका छन्। वर्गसंघर्षको विषयमा जनताको चेतना बढ्ने हो भने, उनीहरूले शोषणको सामना गर्नसक्ने र क्रान्तिकारी कदम चाल्नसक्ने सम्भावना बलियो हुन्छ।
दोस्रो, अन्तर्राष्ट्रिय एकता वर्गसंघर्षको भविष्यमा महत्वपूर्ण कारक हुनसक्छ। अहिलेको श्रम बजार वैश्विक भएको छ, र पूँजीवादी प्रणालीले विश्वभर श्रमिकहरूको शोषण गरिरहेको छ। यदि श्रमिक वर्गले आफ्नो अधिकारका लागि अन्तर्राष्ट्रिय स्तरमा एकता र प्रतिरोधात्मक आन्दोलन गर्नसके, पूँजीवादी शक्तिलाई चुनौती दिनसक्ने सामर्थ्य विकसित हुनसक्छ। विश्वव्यापी रूपमा श्रमिक वर्गको एकता, आन्दोलन र हड्तालले क्रान्तिकारी परिवर्तनलाई गति दिनसक्छ।
तेस्रो, स्थानीय आन्दोलनहरूलाई सशक्त बनाउन जरूरी छ। धेरैजसो वर्गसंघर्षका आन्दोलनहरू स्थानीय तहमा नै सफल भएका छन्। उदाहरणका लागि, विभिन्न देशहरूमा भएका किसान आन्दोलन, श्रमिक आन्दोलन, र ट्रेड युनियनहरूको संघर्षले स्थानीय स्तरमा श्रमिकहरूको अधिकार स्थापित गरेको छ। यदि यी आन्दोलनहरूले व्यापक स्वरूप लिन सके, क्रान्तिकारी सम्भावना बलियो हुनसक्छ।
चौथो, राजनीतिक चेतना र नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ। वर्गसंघर्षलाई संगठित र क्रान्तिकारी दिशामा डोर्याउनका लागि सही नेतृत्वको आवश्यकता पर्दछ। यदि श्रमिक वर्गले क्रान्तिकारी सिद्धान्तलाई आत्मसात् गर्नसके, त्यसले वर्गसंघर्षलाई अन्तिम विजयसम्म पुर्याउन सक्ने सम्भावना रहन्छ। सही राजनीतिक दल र विचारधारात्मक नेतृत्वबिना क्रान्तिलाई सुसंगत रूपमा अगाडि बढाउन कठिन हुन्छ।आजको सन्दर्भमा श्रमिक वर्गको सशक्तिकरण, शोषणको अन्त्य, र न्यायपूर्ण समाजको निर्माण प्रमुख लक्ष्य हो। वर्गसंघर्षको प्रक्रिया नै यो क्रान्तिकारी परिवर्तनको आधार हो, जसले समाजमा नयाँ व्यवस्था स्थापना गर्ने मार्ग प्रदान गर्छ।
प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १८:००