३० मंसिर २०८१, आईतवार | Mon Dec 16 2024

राष्ट्रिय कार्यशाला मार्फत एमालेले जवाफ खोजेको ४६ प्रश्न यस्ता छन

-किरण देउजा

३० मंसिर, काठमाडौँ । नेकपा एमाले स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशाला मार्फत विभिन्न ११ सावलमा ४६ प्रश्नको जवाफ खोजेको छ । पार्टी जीवनमा महत्वराख्ने सवालहरूमा एमालेले जिम्मेवार नेताहरूबाट जवाफ खोजेको हो । शनिबारदेखि ललितपुरमा सुरू भएको एमालेको कार्यशाला आइतबार प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनसँग समानको तयारी छ ।

एमालेले पार्टी सदस्य, कमिटीगत काम, पार्टीको अनुशासन र पद्धति, पार्टी कामको अनुगमन तथा मूल्यांकन, असन्तुस्टी, अर्न्तविरोध र गुटबन्दीसँग सम्बन्धित कार्यशैली, जीवनशैली र आचरण, आर्थिक(सामाजिक रुपान्तरण र जनचासोका विषयसँग सम्बन्धित जनसंगठनको काम, गैर ( भौगोलिक क्षेत्रको पार्टी काम, जरा ( केन्द्रित पार्टी सुदृढीकरण अभियान र पार्टी केन्द्रका लागि सुझाव भनेर कार्यशालामा सहभागीसँग ४६ प्रश्नमा सुझाव मागेको छ ।

संगठनिक रूपमा प्रभावशाली र मजबुद मानिएको नेकपा एमालेले स्थानीय तहमा पार्टी कामका समस्या पहिचान गरी समाधानको बाटो पहिल्याउन गरेको यस कार्यशालाले पार्टी जीवनमा दीर्घकालीन महत्व राख्ने निश्चित छ । एमालेको केन्द्रीय संगठन विभागले राष्ट्रिय कार्यशालको आयोजना गरी समस्याको पहिचान र समाधानको उपाय खोज्न लागेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख स्थयी कमिटी सदस्य भानु भक्त ढकालले जानकारी दिनुभयो ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना २०८१’ कार्यान्वयन केन्द्रीत भएर कार्यशाला गरेको हो । यसले पार्टीलाई अझै जुझारू र गतिशिल कसरी बनाउने भन्नेबारेमा दिशा निर्देश गर्नेछ ।

कार्यशालमा कुल ३०१ जना सहभागी भएका छन । जसमा प्रदेश कमिटी र सोसरहका कमिटीका इन्चार्जहरू १२ जना, केन्द्रीय संगठन विभागका प्रमुखसहित १७ जना, प्रदेश कमिटीका पादधिकारी, संगठन विभाग प्रमुख र थप एक जना महिला प्रतिनिधि रहनेगरी ४४ जना सहभागी छन ।

यस्तै जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुख गरी १७६ जना, जनसंगठनका अध्यक्ष र महासचिव गरी ४६ जना र एमालेबाट महानगरपालिका र उपमहानगरपालिकामा निर्वाचित भएका ६ जना जनप्रतिनिधि गरी कुल ३०१ जना सहभागी रहेका छन ।

कार्यशाला मार्फत नेकपा एमालेमा पछिल्लो समय नेताहरू बढी नै अराजक भएको र नेतृत्वको आलोचनामा खुला रूपमा उत्रिएको भनेर व्यापक गुनासोहरू सुनिएको छ । पार्टी सत्तामा हुँदा सरकारले गरेको कामको प्रचार र समस्याका विषयमा प्रतिरक्षामा उत्रन पार्टीका नेता कार्यकर्ताले मानिरहेको संकोचको पनि कारण खोजी हुने बुझिएको छ । पार्टीका नेता कार्यकर्ताको कुनै सुन्न छाडेको आरोपकाबीच एमालेले राष्ट्रिय कार्याशाला नै गरेर सुझाव संकलन गर्नु राम्रो छ ।

एमालेले कार्यशालमा सहभागीसँग गर्न खोजेका विभन्न ११ विषयका ४६ प्रश्न यस्ता छन

पार्टी सदस्यसँग सम्बन्धित :

  1. अपेक्षित संख्यामा (मतदाताको न्यूनतम ६ प्रतिशत) पार्टी सदस्यता विस्तार कसरी गर्ने ? खासगरी युवा र महिला सदस्य कसरी बढाउन सकिएला ?
  2. तोकिएको समयावधी (फागुन – चैत) भित्रै सदस्यता नवीकरण कार्य कसरी सम्पन्न गर्ने ? के समस्या देख्नुहुन्छ ? नवीकरणबारे जिल्ला कमिटीले निर्णय गर्नुपूर्व सदस्यहरूको सम्परिक्षण कसरी गर्न सकिएला ?
  3. सम्पूर्ण सदस्यहरूको अनलाइन अभिलेखीकरण गर्न के कठिनाई छ ? सदस्यहरूलाई पार्टी एप्सको भरपुर प्रयोग गर्न सक्षम कसरी बनाउन सकिएला ?
  4. नयाँ सदस्यहरूको ६ महिने परिक्षणकालिन व्यवस्थाको व्यवहारिक कार्यान्वयन कसरी हुनसक्ला ?
  5. के कस्ता उपायहरू अप्नाएर सबै सदस्यलाई केन्द्रीय पाठ्यक्रममा आधारित प्रशिक्षण दिलाउन सकिएला ? आफ्ना अधिकारको प्रयोग गर्न तथा पार्टीका कर्तव्य निर्वाहगर्न सक्नेगरी सक्षम बनाउन सकिएला ?
  6. सबै सदस्यलाई कमिटीमा आबद्ध गरेर जिम्मेवारीकासाथ परिचालन गर्ने कामलाई कसरी व्यवस्थित बनाउन सकिएला ?

कमिटीगत कामसँग सम्बन्धित :

  1. पार्टी कमिटीका अधिवेशनका बेला खासगरी प्रतिनिधि छनौट र नेतृत्व निर्माणका सम्बन्धमा उत्पन्न हुने समस्याहरू कसरी समाधान गर्नुपर्ला ? अधिवेशनलाई औपचारिकता निर्वाह गर्ने थलो मात्र नभएर नयाँ स्तरमा पार्टी निर्माणको थलो कसरी बनाउन सकिएला ?
  2. किन पार्टी कमिटीका बैठक विधानबमोजिम नियमित बस्न सक्दैनन् ? कमिटीले गरेका निर्णयहरू तदारुकता र गम्भीरताका साथ किन कार्यान्वयन हुँदैनन् ? किन निर्णय कार्यान्वयनको नियमित समीक्षा हुँदैन ?
    हरेक व्यक्ति आफ्नो पद र प्राप्त जिम्मेवारी प्रति जवाफदेही हुनुपर्ने होइन ? किन भइरहेको हुँदैन ?
  3. कम्युनिष्ट पार्टीमा निर्देशन अकाट्य हुन्छन् भनेर पार्टी सदस्यहरूलाई कसरी सम्झाउन सकिएला ?
  4. टोलस्तरका कमिटी निर्माण तथा तिनको नियमित परिचालनमा पर्ने गरेको अप्ठेरो के हो ?
  5. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा गठन भएका समन्वय कमिटीको भूमिकालाई कसरी प्रभावकारी बनाउने ?
  6. माथिल्ला कमिटीका निर्णय तथा निर्देशनका परिपत्र कसरी टोल कमिटीसम्म पुग्छन् ? र कामका प्रतिवेदन कसरी क्रमशः उपल्ला कमिटीमा पठाइन्छन् ?

पार्टीको अनुशासन र पद्धतिसँग सम्बन्धित :

  1. तहगत कमिटी प्रणाली ( चेन अफ कमाण्ड) कसरी व्यवस्थित पार्न सकिएला ?
  2. पार्टीको अनुशासन र आचारसंहिता पालनामा पार्टी सदस्यहरूलाई कसरी सचेत र गम्भीर बनाउने ?
  3. अनुशासनहिनता तथा संगठनात्मक अराजकताका विषयमा कमिटी बैठकमा एजेण्डा बन्ने गरेको छ कि छैन ? कसरी परास्तगर्न सकिएला ? तपाईंको सुझाव के छ ?

पार्टी कामको अनुगमन तथा मूल्यांकनसंग सम्बन्धित :

  1. पार्टी कमिटीका मूल्यांकनका आधार के के हुनसक्लान् ?
  2. व्यक्तिको मूल्यांकनलाई कसरी विधिसम्मत, बस्तुनिष्ट र व्यवहारिक बनाउन सकिएला ?
  3. व्यक्तिको क्षमताको मापन कसरी गर्ने ?
  4. व्यक्तिलाई दिइने जिम्मेवारी र अवसरको आधार केलाई बनाउने ?
  5. माथि देखि तलसम्म पार्टी कामको व्यवस्थित अनुगमन कसरी हुनुपर्ला ?

असन्तुस्टी, अर्न्तविरोध र गुटबन्दीसँग सम्बन्धित :

  1. कमिटीभित्र उत्पन्न हुने मनमुटाव, अर्न्तविरोध र गुटबन्दीलाई कसरी बुझ्ने र वर्गिकरण गर्ने ? शीघ्र समाधानका प्रभावकारी उपाय के के हुनसक्छन् ?
  2. आन्तरिक समस्या समाधानमा सम्बन्धित कमिटीका ईञ्चार्जले कस्तो भूमिका खेल्नुपर्ला ?

कार्यशैली, जीवनशैली र आचरणसँग सम्बन्धित :

  1. पार्टीका नेता, कार्यकर्ता र सदस्यको कार्यशैली र जीवनशैलीमा समस्या देख्नुहुन्छ ? सुधार ल्याउन के के गर्नुपर्ला ?
  2. आर्थिक आचरण र चारित्रिक आचरणमा गल्ती गर्नेलाई कसरी कारवाहीको दायरामा ल्याउन सकिएला ?
  3. नेता, कार्यकर्ता र सदस्यको जीवनशैली र कार्यशैलीलाई कसरी जनप्रिय बनाउन सकिएला ? र कसरी उहाँहरूलाई जनतासँग जीवन्तरुपमा घनिष्ट र एकाकार गर्न सकिएला ?

आर्थिक-सामाजिक रुपान्तरण र जनचासोका विषयसँग सम्बन्धित :

  1. प्रत्येक तहका पार्टी कमिटीले आफ्नो कार्यक्षेत्रमा भौतिक विकास निर्माण र जनताका ज्वलन्त समस्यालाई कसरी कार्यसूचिका विषय बनाउने ?
  2. जनप्रतिनिधिको भूमिकालाई कसरी प्रभावकारी बनाउने ? उनिहरूको बाँकी अवधिलाई कसरी उपलब्धिमूलक बनाउन सकिएला ?
  3. समाजको प्रगतिशील सांस्कृतिक रुपान्तरणमा पार्टीपंक्तिलाई कसरी परिचालन गर्न सकिएला ?
  4. विभिन्न वर्ग, पेशा र समुदायका जनताका माग र मुद्धामा पार्टी सम्बद्ध जनसंगठनहरूलाई प्रभावकारी परिचालन कसरी गर्न सकिएला ? आ-आफ्ना वर्गीय वा पेशागत आन्दोलनका वास्तविक नेताको भूमिकामा कसरी स्थापित गर्न सकिएला ?

जनसंगठनको कामसँग सम्बन्धित :

  1. स्थानीय तहमा जनसंगठन र पार्टीबीचको सम्बन्ध कस्तो छ ? तल्लो तहमा अपेक्षितरुपमा जनसंगठन बीचको काम प्रभावकारी हुननसक्नुको कारण के होला ?
  2. सबै जनसंगठनका वडा तह (पिंध ) सम्म कमिटी बनाउन र लक्षित संख्यामा जनसंगठनका सदस्य बिस्तार गर्न ठाडो र र्तेसो नेतृत्वलाई कसरी परिचालन गर्नुपर्ला ? समस्या के देख्नुहुन्छ ?
  3. जनसंगठनमार्फत् पार्टी सदस्यभन्दा बाहिरका जनसमुदायसँग पार्टीलाई प्रभावकारी ढंगले कसरी जोड्न सकिएला ?

गैर – भौगोलिक क्षेत्रको पार्टी कामसँग सम्बन्धित :

  1. उपत्यका विशेष प्रदेश समन्वय कमिटी र उपत्यकाका भूगोलका कमिटीहरू बीचको सम्बन्ध र समन्वय कस्तो हुनुपर्ला ?
  2. उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटी मातहतका जिल्ला तहका कमिटीहरूको सम्बन्धित समुदायमा कुल संख्याको न्युनतम् ६ प्रतिशत पार्टी सदस्यता बिस्तार कसरी गर्न सकिएला ?
  3. उपत्यका विशेष प्रदेश अर्न्तगत प्रारम्भिक कमिटी निर्माणमा रहेका समस्या के हुन् ?
  4. नेकपा (एमाले) का बारे प्रवासमा फैलाइएका भ्रमहरूलाई कसरी चिर्न सकिएला ? प्रवासको काममा रहेका संगठनात्मक समस्याहरूको समाधान के हुनसक्ला ?
  5. भूगोलको पार्टी कामलाई प्रभावकारी बनाउन सम्पर्क मञ्चहरूको भूमिका कसरी बढाउन सकिएला ?

जरा – केन्द्रित पार्टी सुदृढीकरण अभियानसँग सम्बन्धित :

  1. पार्टीलाई जरैदेखि बलियो बनाउने हो भने वडा तथा टोल केन्द्रित सुदृढीकरण अभियानको आवश्यकता नपर्ला ? अभियानमा कस्तो कार्यसूचि बनाउनुपर्ला ?
  2. प्रत्येक वडामा सम्भावना बोकेका युवाहरूको रोष्टर उतार्ने र युवा नेतृत्व विकासका लागि योजनाबद्ध प्रशिक्षण चलाउने धेरै अघिदेखिको पार्टी केन्द्रको निर्देशनको कार्यान्वयन अब कसरी गर्न सकिएला ?
  3. आर्थिक कार्ययोजना र लेखापरीक्षणलाई वडा कमिटीभन्दा माथि अनिवार्य विषय कसरी बनाउन सकिएला ?
  4. पार्टीमा ईञ्चार्ज सिस्टमलाई थप व्यबस्थित र लयबद्ध बनाउने क्रममा पार्टी केन्द्रको अपानि १० ले पालिका कमिटीका सदस्य टोल कमिटीको ईञ्चार्ज हुने र वडा कमिटीका सदस्य घर-घरको जिम्मेवारी लिएर खट्ने भनिएको छ, यस्को कार्यान्वयन कसरी गरिनेछ ?

पार्टी केन्द्रलाई सुझावसँग सम्बन्धित :

  1. निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि अब आउने दिनमा नेकपा (एमाले) का कार्यकर्ता कसरी क्रियाशील हुनुपर्ला ?
  2. हाम्रो संगठनात्मक काममा तपाईंले देखेका अरु केही समस्या छन् कि ? भएमा तिनको समाधान के होला ?
  3. पार्टीको मौजुदा विधान र नियमावलीमा कुनै खट्कने कुरा देख्नुभएको छ ? कुनै धारा वा दफामा तपाईंको केही भन्नु छ ?
  4. पार्टीको नीति र नेतृत्वका बारेमा केही सुझाव छन् ?

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १२:१८