६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ: मन्त्री सिंह

७ मङ्सिर, काठमाडौँ । उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभएको छ ।

कृषि विकास बैंकको केन्द्रिय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँले कृषि विकास बैंक निजी क्षेत्रका बैंक भन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गर्नुभयो । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दाबढी जिम्मेवारी रहेको बताउनुभयो । बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उहाँले सुझाव दिनुभयो । “कृषि विकास बैंकले जनताको सेवामा निरन्तर योगदान दिँदैआएको छ”, उहाँले भन्नुभयो, “सेवामा खटिने कर्मचारीको समस्या सुल्झाएर बैँक बलियो बनाउन तर्फ लाग्नुपर्छ ।”

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलन पश्चात कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्ने बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थमन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गर्नुभयो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : November 22, 2024 at 4:58 pm