७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

इनास र संसरा बर्लिनद्वारा काभे्रपलाञ्चोकका बाढीपीडितलाई राहत

७ मङ्सिर, काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।

इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्मनीको बर्लिनमा गत महिना देउसीभैलो खेलेर जुटाएको दुई लाख ६० हजार रकम काभ्रेको रोशी र बेथानचोक गाउँपालिकाका बाढीपीडित चार परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।

बर्लिनस्थित नेपाली दूताबास, छ वटा नेपाली रेष्टुरेराँ र दुई नेपाली परिवारको घरमा देउसीभैलो खेलेर तथा अन्य केही व्यक्तिको सहयोगमा सो रकम सङ्कलन गरिएको इनासले जनाएको छ ।

रोशी गाउँपालिका–३ का नौ वर्षीय छोरा र चार वर्षीया छोरीसहित खेतबारी गुमाएका रुपबहादुर तुम्सिङ र ६७ वर्षीया आमासहित खेतबारी गुमाएका सोमान लामालाई वडाध्यक्ष धनजित लामाले आज यहाँ एक कार्यक्रमकाबीच राहत सहयोग प्रदान गर्नुभएको हो ।

यसैगरी जिल्लाकै बेथानचोक गाउँपालिका–३ स्थित ३९ वर्षीया श्रीमती र ११ वर्षीय छोरासहित घरजग्गा गुमाएका भीमबहादुर शङ्कर र बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएका फडीन्द्र तिमल्सिनालाई राहत सहयोग प्रदान गरिएको वडा सदस्य नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १५:०४